बालेनको फेभर मानिएको ‘रुटिन अफ नेपाल बन्द’ को फेसबुक पेज पुनः सक्रिय
काठमाडौँ । ख्यालख्यालैमा सुरु भएको रुटिन अफ नेपाल बन्द (RONB) तपाईहरुको विश्वास र हौसलाले उदाहरणीय अभियान बन्यो । यो यात्रा उत्साहप्रद र गौरवपुर्ण थियो, छ र भइरहनेछ । यसबिचमा हामीले सँधै सकारात्मक सोच र जानकारीलाई प्राथमिकतामा राख्यौँ । धेरै उतार-चढाब आए तर थाहै नपाइ RONB हामी सबैको साझा समाज दैनिकी र रूटिन बनिसकेछ।
भनिन्छ, एकअर्काको माया र सम्मान बिना बनेको समाज जुनसुकै बेला पनि भाँडिन सक्छ । हामीले सँधै एकअर्काप्रति सम्मानभाव जाग्ने, हौसला र उर्जा थप्ने नविनतम प्रयासका खबर र कामहरूलाई मद्दत गर्यौ। सामाजिक कामहरुलाई अगाडी बढाउने समाजलाई जोडिराख्न् र सदभाव कायम राखीरहने काममा हाम्रो ल्याकतले भ्याएसम्म सधै कोशिस गरिरह्यौँ । उत्साह, सकरात्मक सोचसंगै हामी शिकारु पनि थियौँ । नयाँ प्रबिधि, सकारात्मक खबरमात्रै दिने नयाँ प्रयास र नयाँ पुस्ताको मनपर्ने शब्दहरुको संयोजन जति रोमाञ्चक थियो, त्यति नै जोखिमपुर्ण पनि ।
हामीले जति ध्यान दिए पनि नचाहाँदा नचाहादै पनि केहि गल्ति, त्रुटिहरु भएका छन् र हामीले थाहा नपाएका अझै धेरै पनि हुन सक्लान् । त्यसो हुनुमा कहिले असम्बन्धित सन्दर्भ र खराब समय पर्यो होला, कहिले अनुपयुक्त शब्द पर्यो होला तर हाम्रो नियत कहिल्यै खराब थिएन । कुनै पनि गल्ति वा त्रुटीहरु हामीले जानाजान गरेनौँ । यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ति नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ ।
र, नयाँ किसिमले समाजमा थप सकारात्मकता थप्न, केहि गर्छु भन्नेहरुको मनोबल बलियो बनाउन सहयोग गर्न गैरराजनीतिक सामाजिक जानकारी, खबर लिएर आउनेछौँ । विश्वास छ, सबैको मन जित्नेछौँ । आशा छ हामी तपाइको प्रिय रूटिन बनिरहने छौ। अबका हाम्रो उद्देष्यहरु न्यूनतमरुपमा यी हुनेछन् :
१. गैरनाफामुलक अथवा पब्लिक कम्पनीमा जाने सम्भावना खोजी गर्नेछौँ ।
२. हामीले पोस्ट गर्ने सामग्रीहरु ब्रेकिङ भन्दा पनि सत्य र प्रमाणीत बनाउनेछौँ । प्रमाणीकरण गर्न एकदमै संवेदनशील हुनेछौँ ।
३. पोस्ट गर्ने समय वा परिस्थितिले हाम्रो सामग्रीहरुको अर्कै अर्थ लाग्छ कि भनि सचेत हुनेछौँ ।
४. हाम्रो उद्देष्य कसैलाई बहकाउने (Manipulate) गर्ने थिएन तर हाम्रा पोस्टहरुले त्यस्तो नगरोस् भनेर थप सचेत हुनेछौँ ।
५. सामाजिक कार्य रगतखोजी तथा हराएका वा भेटिएका व्यक्ति र सामग्रीहरु जस्ता हेल्प पोस्टहरुलाई पहिलो प्राथमिकता दिनेछौँ । यसका लागि हाम्रो एपलाई माध्यमकारुपमा भरपुर प्रयोग गर्नेछौँ ।
६. आमनागरिकहरुको चासोलाई सम्बोधन हुने गरेर Feedback Forum बनाउने छौँ ।
७. हप्तामा कम्तिमा एउटा नेपालमा बनेको वा कुनै विशेष स्टार्ट अपको बारेमा निशुल्क प्रमोसन वा शुल्क लिएमा त्यसलाई सामाजिक काममा प्रयोग गर्नेछौँ ।
८. दिनमा एउटा सामाजिक सचेतनाका बिषयलाई पोस्ट गर्नेछौँ ।
9. RONB देशको निती नियम र संस्कारलाई सम्मान गर्दै नेपाली समाजलाई सहि बाटोमा लैजान सहयोगी बन्न प्रयत्नरत रहने छ। र, RONB कुनै व्यक्ति वा समूहको ब्रान्डकारुपमा मात्र नरहेर सम्पूर्ण आमसर्वसाधारण नेपालीको पहुँच र सम्पर्कको ब्रान्डकारुपमा स्थापित गर्ने दिशातिर लाग्नेछौँ ।
(रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पाैडेलकाे फेसबुकबाट)