फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न
काठमाडौं । तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी संघले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सुवास नर्सरीका सञ्चालक सुवास लामा प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागे पनि बिक्री उत्साहजनक नरहेको बताउँछन् । उनले भने, ‘गोदावरी, ‘इनडोर तथा आउटडोरका प्लान्ट’ राखिएको छ, तर अवलोककर्ता खरिद नगरी फर्कन्छन् ।’ नर्सरी व्यवसायी लामाले आफ्नो बिक्री कक्षमा रु एक सय ५० देखि तीन हजार पाँच सयसम्मका फूल बिक्रीमा राखेका छन् । रेड रोज नर्सरीका सञ्चालक मिलन कार्की मौसमी तथा बेमौसमी फूल बिक्रीमा राखिएपनि अवलोककर्ताले बेमौसमी फूलहरु बढी किन्ने गरेको सुनाउँछन् । उनले भने, ‘स्टलबाट प्रचारप्रसार राम्रै भएको छ । धेरैजना बेमौसमी फूल किन्न आउने गरेका छन् । उपभोक्ताले सस्ता फूल खोजेका छन् ।’
प्रदर्शनी हेर्न चाँगुनारायणबाट आएका विजय उपाध्याय फूल महँगा भएको गुनासो गर्छन् । प्रदर्शनीमा बेचिने फूल नर्सरीकाभन्दा सस्ता हुनुपर्ने उनको भनाइ छ । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नारासहित मंगलबारदेखि प्रदर्शनी जारी छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ६२ वटा नर्सरी कक्ष छन् ।