चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात
काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ ।
चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।
प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको हो ।
विद्युत् निर्यातले नेपाल र भारतबीचको व्यापार घाटा कम गरेको र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई बिक्री गरिरहेको छ ।