दुर्गा प्रसाईंको कार्यक्रम बल्खुमा हुने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिदिएको छ ।
प्रसाईं नेतृत्वले मंसिर ७ गते आयोजना गर्न लागेको उक्त प्रदर्शनका लागि बल्खुमा स्थल तोकिएको हो । सोही दिन नेकपा एमाले निकट युवा संघले पनि काठमाडौं केन्द्रित कार्यक्रम गर्ने घोषणा गरेको छ । दुबै समुहले माइतीघर मण्डलामा कार्यक्रम गर्ने घोषणा गरेपछि दुई पक्षबीच मुडभेट, झडप हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो ।
उक्त छलफलपछि युवा संघले कार्यक्रम तीनकुनेमा गर्ने बताएको छ । भने प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा मंसिर ४ गतेदेखि ३० गतेसम्म कुनैपनि भेला जुलुस र प्रदर्शन कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको हो ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् । साथै यता मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्ने कार्यक्रम बल्खुमा तोकेको छ ।