नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिक्रम संम्वत २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी आफूहरु भएको बताएका छन् ।
बुधबार पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी चाँडै दशहौँ महाधिवेशन गर्न गइरहेको समेत बताए । अध्यक्ष नेपालले भने, ‘२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ । हामीले आफ्नै जीवनकालमा भइरहेको पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो ।’
अध्यक्ष नेपालले पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गरेको स्मरण गरे । तत्कालीन पार्टीका महासचिव तुलसीलाल अमात्य भएका बेला पुष्पलालले विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । यस्तै, नेता नेपालको अगुवाइमा दुई वर्षअघि एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।