भृकुटीमण्डपमा ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ हुँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैटौँ ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ आयोजना हुने भएको छ । कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट्स र ईटीएसआईपीएलले कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रर्दशनी “छैटौँ नेपाल एग्रीटेक” आयोजना गर्न लागेको हो । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ ।
प्रर्दशनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको छ । प्रर्दशनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादीरहित कृषि लगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।