सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन
काठमाडौँ । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा सो फोहोर सङ्कलन गरेको हो ।
सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको नेपाली सेनाले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुखप्रतिनिधिहरूको समन्वयमा नेपाली सेनाको सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ ।
‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने छ ।