एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभाले हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०।४२ अनुपातमा हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो । हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।
बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले सेयर लाभांश र हकप्रद निष्कासनमार्फत चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ । आव आ.व.०८०।०८१ को चैत्र मसान्तसम्ममा कूल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ । कम्पनीले आ.व.०८०।०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख रुपैयाँ, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हाल यस कम्पनीले देशभरि रहेका १३९ शाखा कार्यालयहरू र १ लाख १३ हजार अभिकर्ता मार्फत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।