जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ । ‘स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने, ‘एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । उनका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ । केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा श्रेष्ठले जानकारी दिए ।

हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उनको भनाइ छ । ‘केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ’, डा श्रेष्ठले भने, ‘यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।’ उनका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । ‘उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने । उनका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् । साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि विसं २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *