नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने
काठमाडौं । नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने भएको छ ।
नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए । उनले यस वर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह गरे । राज्यले कुनकुन ठाउँमा कस्तो आपत्कालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए ।
डा.उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए । उनले गृह मन्त्रालय, आपत्कालिन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे ।
विज्ञ उप्रेतीले मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुने भएकाले आम नागरिकले पनि शतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे । जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन् ।
केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गरे । उनले विपद्जन्य घटना मात्रै नभइ अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरुमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताए ।