नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी निरन्तर बढ्दो
काठमाडौं । नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी लगातार बढिरहेको छ । स्थापित ट्र्याक रेकर्ड, बलियो र अनुभवी नेतृत्वका कारण नर्भिक अस्पतालमा सेवाग्राहीको संख्या बढ्दा आम्दानी बढेको हो । बढ्दो आम्दानीले उपत्यका बाहिर पनि नर्भिक अस्पताल खोल्ने सञ्चालकहरुको योजनालाई प्रोत्साहन मिलेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् ९ महिनामा नर्भिकले अस्पतालले १४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । नर्भिकले सन् २०२३ मा १९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, २०२२ मा १८ करोड १३ लाख, २०२१ मा १३ करोड ६० लाख र २०२० मा १२ करोड ५१ लाख रुपैयाँको आम्दानी गरेको थियो । सन् २०२३ मा १ लाख ५० हजार बिरामीहरुले नर्भिकमा उपचार गराएका छन् । यसले नर्भिकजस्ता स्तरीय अस्पतालका लागि राम्रो भविष्य भएको केयर नेपालको विश्लेषण छ । नर्भिकको सञ्चालक समितिले पनि भविष्य देखेर नै लगानी थप गरी सेवा विस्तारको काम गरिरहेको छ । नर्भिकले आफ्नो बेड क्षमता बढाउने उद्देश्यले नयाँ भवन स्थापना गर्ने विस्तार योजनाहरू गरिरहेको छ। विद्यमान ओपीडी र आइपीडी सुविधाहरूको परिमार्जन र स्तरोन्नतिलागि विस्तारपछि कुल बेड क्षमता २ सयभन्दा बढी हुनेछ । विस्तारको अनुमानित लागत २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । ऋण स्वपुँजी अनुपात ७९ः२१ प्रतिशत छ अर्थात् १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ ऋण र ५० करोड रुपैयाँ सेयरधनीको पुँजी रहने छ । अस्पतालले २ अर्ब ७३ करोड ९९ लाख रुपैयाँको ऋणको रेटिङ गराएको छ । अस्पतालले भवन निर्माण, चिकित्सा र गैरचिकित्सा उपकरण किन्ने योजना बनाएको छ । सन् २०२४ को अप्रिलको मध्यसम्ममा कम्पनीले उक्त आयोजनातर्फ २४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको छ र आयोजना आर्थिक वर्ष २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
अस्पतालमा बसन्त चौधरी अध्यक्ष रहेको बिएलसी होल्डिङ्सको ४३ प्रतिशत सेयर स्वामित्व छ । बिएलसी होल्डिङ्सले कृषि, शिक्षा, एफएमसिजी, प्याकेजिङ्ग, स्वास्थ्य सेवामा व्यवसाय गरिरहेको छ । नर्भिकको बोर्डको प्रतिनिधित्व मनिष कुमार खेम्का हाल बीएलसी होल्डिङ्स प्रालिका कार्यकारी निर्देशकको रुपमा पनि कार्यरत छन् । नर्भिकको चार दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेका राजेन्द्रबहादुर सिंहको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति छ । डा. पंकज जालान मेडिकल डाइरेक्टर छन् । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताललाई सुनसरीको दुहबी र भैरहवामा पनि विस्तार गर्ने घोषणा गरिसकेकी छन् । अढाइ अर्बका दरले दुई स्थानमा कुल ५ अर्ब रुपैयाँ लगानी गरेर नर्भिकलाई उपत्यकाबाहिर पनि विस्तार गर्ने योजना अनुसार काम भइरहेको छ । यसबाहेक २ अर्ब २५ करोड रुपैयाँ लगानी गरेर डेडिकेटेड क्यान्सर अस्पताल खोल्ने उनको योजना छ । तत्कालका लागि अस्पतालको पार्किङ क्षेत्रमा भवन निर्माण गरी क्यान्सर उपचार गरिने र त्यसपछि छुट्टै डेडिकेटेड अस्पताल निर्माण गर्ने उनीहरुको तयारी छ । ६७ लाख लगानीबाट सुरु भएको नर्भिकको हालको चुक्तापुँजी २७ करोड रुपैयाँ छ । ३० शय्याबाट अस्पतालले १४४ शय्यामा सेवा विस्तार गरिसकेको छ भने १८० जना डाक्टरबाट उपचार गराउँदै आएको छ । अस्पतालले गत वर्ष १८ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्दा १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नेपालमा परीक्षण प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड उच्च प्रविधि प्रयोगशाला सेवाहरूको साथ मान्यता र एक प्रमाणित प्याथोलोजी प्रयोगशालामा नर्भिक अग्रस्थानमा छ । एस्कर्ट्स हार्ट इन्स्टिच्युटसँग सहकार्यमा सन् १९९७ मा अत्याधुनिक ननइनभेसिभ कार्डियक केयर र इनभेसिभ कार्डियो सुविधा ल्याउने यो पहिलो निजी क्षेत्रद्वारा सञ्चालित अस्पताल हो । नर्भिकले सन् १९९९ मा देशमा क्याथेटराइजेशन ल्याब स्थापना गरेको थियो । नेपालमा स्वास्थ्य सेवाको माग बढ्दो छ । बढ्दो आय स्तर, बढ्दो स्वास्थ्य चेतना, र बीमामा सुधारिएको पहुँचका कारण स्वास्थ्य सेवा राजस्व र रोजगारीको हिसाबले नेपालको सबैभन्दा ठूलो क्षेत्र बनेको छ।
धेरैसँग निजी स्वास्थ्य सेवालाई प्राथमिकता दिने नर्भिकजस्ता निजी अस्पतालहरूमा बिरामीहरूलाई आकर्षित गर्ने ठूलो अवसर रहेको रेटिङ एजेन्सीको विश्लेषण छ। तर, स्वास्थ्य सेवा उद्योगमा निजी अस्पतालहरुबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । जसकारण आम्दानी बढाउन र प्रतिष्ठा जोगाइराख्न चुनौति छ । आइपिओ निष्काशन गर्ने उदेश्यले नर्भिक अस्पताल २०७८ सालमा पब्लिक कम्पनी भइसकेको छ । नर्भिक पहिलो पब्लिक लिमिटेड अस्पताल हो, निकट भविष्यमै यसले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दैछ । ‘नर्भिक कालान्तरसम्म बाँचिरहोस् भन्ने सोचेर साधारण सेयर निष्कासन गर्ने निधोमा पुगेको हुँ,’ बसन्त चौधरी भन्छन्– ‘म र मेरी छोरीपछिको अर्को पुस्ता व्यवसाय सम्हाल्न आइपुग्ला, पुस्तैपुस्ताको लहरबीच पनि नर्भिक अमर रहनुपर्छ । ‘नर्भिक नितान्त मेरो सिर्जना हो । मेरो मुटुको नजिक भएकै कारण म मरे पनि मेरो नर्भिक नमरोस् भनेर नै म पब्लिकमा जान खोजिरहेको छु । बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने योजनासहित अघि बढेको नर्भिक कोरोनाका कारण लगातार ३ वर्ष नाफामा जान सकेन, जसले गर्दा आईपीओ जारी गर्ने सपना एक वर्ष पछि धकेलियो । आगामी आर्थिक वर्ष आईपीओ जारी गर्ने अस्पतालको योजना छ ।