देशका समस्याहरू सम्बोधन गर्न काँग्रेस र एमाले एक भएको हो- सांसद महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताए । उनले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको बताए । उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएका बताए ।

उनले भने ‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ । बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ । त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौँ । हाम्रो देशमा सबैलाई जिम्मेवारी दिऊँ भन्ने मानसिकता छ ।

यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ । सबैकुरालाई ध्यानमा राखेर सभापतिज्यूले निर्णय लिनुहुनेछ । विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ । दुवै दलले छलफल गरेर सहमति बन्छ । सबैलाई मान्य हुने निष्कर्षमा हामी पुग्नेछौँ । असारमै सबै भन्ने होइन । काम पहिल्यै भइसकेको हुन्छ, तर त्यसको बिल जुटेर सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइपुग्दा अन्तिम समयमा हुने प्रचलन छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *