प्रधानमन्त्री बन्नुको अर्थ प्रधानमन्त्री पदका लागि होइन विकास र सुशासनका लागि प्रधानमन्त्री बने- ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफु प्रधानमन्त्री कै लागि मात्र प्रधानमन्त्री नभएर देशको विकासका निम्ति, सुशासनका निम्ति आफू प्रधानमन्त्री बनेको पनि बताएका छन् ।

आज (मंगलबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भने,’प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ । र, मैले आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति होस्, अपाङ्गता भएका व्यक्तिहरूका निम्ति होस् अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति होस्।’

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए ।

उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए । उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने उल्लेख गर्दै भने,’बालबालिका भविष्यका कर्णधार हुन् तिनलाई फस्टाउन दिनुपर्छ।’ प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *