उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत सोंगको भेटवार्ता
काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् ।
आज (विहिबार) मन्त्रालयमा भएको उक्त भेटमा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल भएको राजदुत सोंगले बताएका छन् । ‘नेपाल र चीनबीच सहरी विकासको क्षेत्रमा कुन–कुन विषयमा सहकार्य हुन सक्छ ? अहिले के भइरहेको छ भन्नेबारेमा सामान्य समीक्षा भयो,’ भेटबारे जानकारी गराउँदै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ। स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ। ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो। हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने भनेर राखेका छौँ। त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो।’
रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुनर्निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए ।