कांग्रेस-एमाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन: नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनिहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
आज काठमाडौँमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा स्मृति सभालाई सम्बोधन गर्दै नेता कोइरालाले अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।
देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने– ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुन पनि सक्छ ।’ आफ्नो पार्टी सरकारमा छ त्यसैले उनिहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको भनाई थियो ।