प्रधानमन्त्रीमा ओलीको नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई संवैधानिक इजलासमा पठाइएको छ।
आइतबार सर्वोच्चका न्यायधिस बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाएको हो। रिट निवेदकमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको भन्दै संवैधानिक इजलासमा पठाइएको आदेशमा उल्लेख छ।
प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्ता खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।