जनचाहना र आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।
सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका छन् । उनले भने, ‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरू त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको माग अनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ, यो तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ,’ उनले भने ।
यस्तै, उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरू सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए । अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिने उद्देश्यले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो ।