अध्यागमन मुलुकको अनुहार, कर्मचारीले गलत गरेमा कारबाही गरे हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।

काठमाडौंस्थित मंगलबार अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताएका हुन् । ‘तपाईहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’ देशभन्दा बाहिर जाने मानिसकहरुलाई पनि विदाई गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । ‘अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्यो,’ उनले भने, ‘गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।’

पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’ गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धि विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे ।

राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे । ‘संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधिी ल्याउनुस्,’ उनले भने, ‘कानुन निर्माणको विषय मेरो धेरै बढी चाँसो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।’ १६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङ्गको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकरात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *