जनता नै चेतनशील हुनुपर्छ
कुनै पनि वृक्षको जरा कुहेपछि वृक्ष सहीसलामत रहन सक्दैन । जरा सुकेपछि वृक्ष स्वतः सुकेर जान्छ वृक्षको जीवनचक्र जस्तै हो हाम्रो समाज र सामाजिक व्यवस्था । त्यसलाई सुचारु राख्न राज्यको परिकल्पना गरियो, राज्यसंयन्त्र सञ्चालनका लागि राजनीति अपरिहार्य हुन गयो । राजनीति नीतिहरुमा श्रेष्ठ मानिन्छ । राजनीति स्वच्छ भयो भने सम्पुर्ण समाज सुन्दर बन्छ । तर राजनीति विग्रियो , प्रदुषित भयो र धमिलियो भने समाजमा अस्तव्यस्तता, अराजकता र अन्योल उत्पन्न हुन्छ । राजनीति खराब भएकाले राष्ट्रहरु बिखण्डन संकटमा परेका, पतन भएका थुप्रै उदाहरण छन् । राष्टलाई जोगाउने, बचाउने र उन्नति पथमा लैजाने तत्व भनेको जनता हो । जनतालाई राज्यको खम्वाको रुपमा परिभाषित गरिन्छ । खम्वाविनाको भवन मजवुद हुन सक्दैन । जनता सामान्य रुपमा हेर्दा अपरिभाषित र अमुर्त लाग्ने शब्द हो तर जनता नै राष्ट्रको जीवन हो, प्राण हो अझ सरल रुपमा यसलाई वृक्षको जरासँग दाँज्न सकिन्छ । कुनै कारणवस जरा मक्कियो, कुहियो वा रोगी भयो भने रुख स्वस्थ र हराभरा रहन सक्दैन । यसरी जनता राष्ट्रको लागि सम्पुर्ण हो । जनता चेतनशील , जागरुक , इमान्दार , परिश्रमी भए भने राष्ट्रलाई कुनै पनि खालको संकटबाट बचाउने शक्ति भनेको जनता नै हुन । जनता चेतनशील भएनन् अल्छी भए , मेहनत गर्न छाडे, आफ्नो अधिकार बुझेनन् गलत तत्वको भटकावमा परेर सही गलत छुट्याउन सकेनन् भने राष्ट्रको दुर्दशा शुरु हुन्छ ।
हामीले सैद्धान्तिक रुपले व्याख्या विश्लेषण गरेर चित्त बुझाउने कुरा एउटा भयो तर मानव सम्पदाको इतिहासमा यस्ता अनगिन्ती घटना दुर्घटना भएका छन । जनतालाई कमजोर बनाउने तत्व भनेको अशिक्षा, अचेतनता र ऐयाशी जीवन शैली नै हो । यो कुरा प्रत्यक्ष हेर्न हामी अन्यत्र भड्कि रहनै पर्दैन , यसको जीउँदो जाग्दो उदाहरण हामीसँग छ । नेपालमै छ । आज नेपाल जुन संकटमा फसेको छ, त्यसको मुल कारण जनतामा ठीकवेठीक छुट्याउन सक्ने शक्तिको अभाव नै हो । ठीक लाई ठीक र वेठीकलाई वेठीक भन्ने हिम्मत जनतासँग भएन भने यस्तो अवस्था बारम्वार आउँछ । आधुनिक नेपालको निर्माणदेखि आजसम्मका घटनाक्रमले जनता सचेत र जागरुक नभई देशको उन्नति सम्भव छैन भन्ने देखाएको छ । स्वतन्त्र र सार्वभौम जनताले मात्र राष्ट्रको रक्षा र विकास गर्न सक्दछन । मानव विकासका क्रममा जनतालाई अधिकार सम्पन्न गराउने, दासताबाट र पराधिनताबाट मुक्त गराउने ठुल ठुल्ला संघर्ष भए । संघर्षको नेतृत्व सही , सक्षम र इमान्दार हुदाँ संघर्ष सफल पनि भए । स्वार्थी , लालची र धोखेवाजको हातमा नेतृत्व गएको बेला असफलता नै हात लागेको छ । आन्दोलन , त्यसका उपलब्धी र अगाडिको यात्रा तय गर्ने मामिलामा देखिएका अडचन, अवरोध र समस्याहरुलाई नेतृत्वले नै निकास दिनुपर्ने हुन्छ । तर विज्ञान र प्रविधिको दुरुपयोग गरी गलत कुरालाई सही सावित गराउने र समाजलाई पतनको खाडलमा जाक्ने काम यता केही समयदेखि बारम्बार भइरहेको छ । आन्दोलन गरेको, स्वतन्त्रताको लडाइँ लडेको शक्ति गलत बाटोमा गएपछि जनताले चेतशील रुपमा हस्तक्षेप गरी त्यसलाई सही बाटोमा ल्याउने प्रयत्न गर्नुपर्ने हो, त्यसो नभए उपयुक्त विकल्प खोज्नुपर्ने हो तर आज हाम्रो देशमा त्यसको ठीक विपरित काम भइरहेको छ । पुरानो पुस्ताको नेतृत्व बिग्रिएको छ, त्यो सही हो ।
नेतृत्व गलतबाटोमा हिडेपछि पार्टीहरु पनि पथविचलित हुनु स्वभाविक छ । यस्तो स्थितिमा विकल्प खोज्नुपर्ने बाध्यता पनि पर्छ । तर खरावको विकल्प त्यसभन्दा पनि खराब खोज्नु क्रिमार्थ उपयुक्त कदम होइन । अहिले मानव तस्कर , हतियार तस्कर, सहकारी ठग, राष्ट्र र जनतालाई धोखा दिएर जथाभावी गर्ने, कानुन मान्दिन भन्ने र राष्ट्रलाई ठुलो संकटमा पार्ने तत्वको वोलवाला बन्दै गएको छ । यो जनता उडन्ते कुरा, हावादारी प्रचार र गलत कुरामा विश्वास गर्नाको परिणाम हो । जनता जागरुक , चेतनशील राष्ट्रप्रति इमान्दार र आफ्नो विश्वासप्रति दृढ भएको भए विदेशी स्वार्थको क्रिडास्थल बनाएर मुलुकमा लुट मच्चाउने तत्वको वोलवाला हुने थिएन । नयाँ शक्तिको धमास दिएर सम्पुर्ण रुपमा मुलुकलाई तहसनहस गर्ने काम आज जुन रुपमा हँुदैछ , त्यसको पछाडि हाम्रो चेतना कमजोर हुनु नै हो । हामी पुरानाका खराब कुरालाई मात्र हेरेर नयाँले गरेको त्यसभन्दा झन खराबको पक्षमा लागेका छौ । त्यो चेतनाको उल्टो गंगा हो । त्यस्तो सम्भव हुँदैन । सत्य, यथार्थ र तथ्यको आधारमा चल्ने शक्ति अर्थात सजग र सचेत प्रयत्नले हामी वर्तमान संकटलाई हटाउन सक्छौँ । त्यसको लागि कुनै रोमाञ्चककारी कुरा गरेर गलत खोज्ने गलत तत्वको भ्रमबाट हामी मुक्त हुनुपर्छ ।