गगन थापा र कांग्रेसका पूर्वजिल्ला सभापतिहरूबीच छलफल,सभापति देउवाले एकलौटी हिसाबले पार्टी सञ्चालन गरेको गुनासो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पार्टीका विभिन्न जिल्ला कार्यसमितिका पूर्वसभापतिहरूबीच कमलादीस्थित एक होटलमा छलफल भएको छ। छलफलमा करिब २० जिल्लाका पूर्वसभापतिहरू सहभागी रहेको नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए। तीमध्ये १२ जनाले संघीय र प्रदेश सरकार गठन, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयमा शुक्रबार धारणा राखेका छन्। बाँकीले अर्को दिन कुरा राख्नेछन्। महामन्त्री थापा विदेश जाने भएकोले सबैले धारणा राख्न समय अपुग भएको केसीको भनाइ छ। ‘काठमाडौंमा उपलब्ध पूर्वसभापतिहरू र महामन्त्री थापाबीच छलफल भएको हो। समसामयिक राजनीतिक घटनाक्रमदेखि कांग्रेस एमाले सरकार गठनका सन्दर्भ र गतिविधि लगायतका विषयमा पनि कुराकानी भयो,’ उनले भने, ‘पार्टीका आन्तरिक विषयमा पनि साथीहरूले कुरा राख्नुभयो। सभापति शेरबहादुर देउवाले एकलौटी हिसाबले पार्टी सञ्चालन गरिरहेको गुनासो पूर्वसभापतिहरूले महामन्त्री थापासँग राखेका छन्। ‘सरकार गठन र मन्त्रीहरू पठाउँदा पनि प्रदेशलाई बेवास्ता गर्दै संघबाटै निर्णय गर्ने गरिएको छ, यो विषयमा साथीहरूले महामन्त्रीसँग कुरा राख्नु भएको छ । ‘प्रदेश सरकार निर्माण गर्दा प्रदेश कार्यसमितिको अधिकार क्षेत्र सुनिश्चित हुनुपर्छ भन्ने हो।’ प्रदेशको मन्त्री बनाउँदा पनि सभापति देउवाले हस्तक्षेप गरेको गुनासो उनीहरूको थियो।
महामन्त्री थापा शुक्रबार कोरिया जाने भएकोले उनी त्यहाँबाट फर्केपछि पुनः अर्को बैठक बस्ने पनि कुराकानी भएको उनले बताए। छलफलमा पार्टी एक भएर जानुपर्ने विषयमा पनि कुराकानी भएको केसी बताउँछन्। ‘पार्टीभित्र भएका विकृति र विधान पेलेर अघि बढ्ने परिस्थितिलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । ‘१५ औं महाधिवेशनको लक्ष्य भनेको पार्टीलाई विधिसम्मत अघि बढाउनुपर्छ भन्ने अधिकांश साथीहरूको भनाइ रह्यो। महामन्त्री थापा १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारीमा छन्। उनी १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा उत्रिएर जितेका थिए। १५ औं महाधिवेशनमा नेता शेखर कोइराला पनि सभापति उठ्ने तयारी गर्दैछन्। हालै उनको बालुवाटारस्थित बिशालनगरमा रहेको सम्पर्क कार्यालयमा पुगेर केन्द्रीय सदस्य सुजाता कोइरालाले १५ औं महाधिवेशनमा शेखरलाई सहयोग गर्ने बताएकी थिइन्। २०७८ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुन्छ। विशेष परिस्थितिमा सभापति देउवाले एक वर्ष कार्यकाल बढाउन पाउँछन्। नेता कोइराला र महामन्त्री थापाले २०८२ मै महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन्।