सौर्य एयरलाइन्सको दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मृतक एक विदेशीको प्रक्रिया पुर्‍याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि शुक्रबार र शनिबार आफन्तले त्यो बुझेका हुन् । शुक्रबार पाँच र शनिबार १२ जनाले शव बुझेका छन् ।

यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान उड्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार चालक दलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल भएका छन् । दुर्घटनामा घाइते क्याप्टेन शाक्यको तत्काल उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *