३९ वर्षको उमेरमै १०० बच्चाको पिता

रुसमा एकजना व्यक्तिले यो नाराको अर्थ र शब्द दुवै बदलिदिएका छन् । उनको सिद्धान्त छ म एउटा, मेरा सयवटा । रुसका यी अर्बपति युवक प्यावेल डुरोभ ३९ वर्षका भए । अहिलेसम्म उनले बिहे पनि गरेका छैनन् । तर उनी १०० वटा बच्चाको बाउ बनिसकेका छन् । रिपोर्ट अनुसार साढे १३ अर्ब डलरभन्दा धेरै सम्पत्ति भएका डुरोभ रुसी सोसल मिडिया प्लाटफर्म भिकेका संस्थापक हुन् र मेसेजिङ एप टेलिग्रामका निर्माता पनि हुन् । उनले एक टेलिग्राम पोष्टमा आफू बिहे नै नगरिकन कसरी यतिधेरै बच्चाको पिता बन्न सके भन्ने कुरा बताएका छन् । आफ्नो पोष्टमा उनले आफू १०० जना बच्चाको जैविक पिता भएको खुलासा गरेका हुन् । यतिधेरै बच्चाको जैविक पिता बनिसक्दा पनि उनलाई बिहे गरेर घर बसाउने रहर छैन । उनलाई एक्लै बस्न मन पर्दछ । वास्तवमा डुरोभ एकजना शुक्रकिट दाता हुन् । उनले अहिलेसम्म १२ देशमा करिब १०० जोडीलाई सन्तानलाभमा सहयोग गरिसकेका छन् । उनले १५ वर्षअघि आफ्नो एकजना साथीको अनुरोध पछि शुक्रकिट दान गर्न सुरु गरेका थिए । प्यावेल डुरोभका अनुसार उनका साथीका दम्पतिलाई सन्तानको चाहना थियो तर गर्भाधानसम्बन्धी समस्याका कारण बच्चा जन्मउन सकेका थिएनन् । वास्तवमा उनका साथीमा बाँझोपन थियो । अन्ततः क्लिनिकमा ती साथीलाई सन्तान प्राप्तिका लागि उत्तम विकल्प शुक्रकिट दान हुने बताइयो । त्यसपछि उनले डुरोभलाई सम्पर्क गरे र शुक्रकिट दान गर्न अनुरोध गरे । क्लिनिकका डाक्टरहरुले पनि उनलाई सकेसम्म धेरै वीर्यदान गर्न भने । किनकि उनको शुक्रकिटले धेरै निसन्तान दम्पतीहरुलाई सहायता पुग्न सक्दथ्यो । त्यसपछि डुरोभले खुसीसाथ शुुक्रकिट दान गरे । त्यसयता उनले आफ्ना मित्रलाई मात्र होइन विभिन्न १२ वटा देशमा करिब १ सय दम्पतीहरुलाई आमाबुवा बन्न सहयोग गरिसकेका छन् । प्यावेल डुरोभको उक्त टेलिग्राम पोष्टपछि सोसल मिडियामा प्रतिक्रियाको बाढी नै आएको छ । कतिपयले उनको मजाक उडाएका छन् भने कतिले उनको प्रसंसा पनि गरेका छन् । अर्बपति एलन मस्कले पनि त्यस विषयमा टिप्पणी गर्दै डुरोभको तुलना मंगोल सम्राट चंगेज खाँसँग गरेका छन् । चंगेज खाँसँग विश्वको सबैभन्दा शक्तिशाली सेना थियो र धेरै सन्तान थिए । यद्यपि उनका ठ्याक्कै कति सन्तान थिए भन्ने गणनाको हिसाब छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *