धोकेबाजहरु समात्ने महिला जासुस टोली

पेरुमा ‘फिनेक्स स्क्वाड’ नाम गरेको महिलाहरुको समूह निकै चर्चित छ । उनीहरुको काम भनेको सम्बन्धमा विश्वासघात गर्नेहरुको जासुसी गर्ने र समात्ने हो । पछिल्ला २० वर्षदेखि यो समूह राजधानी लिमासहित देशका विभिन्न भागमा विश्वासघात गर्नेहरुलाई समात्न सक्रिय रहेको छ । यस समूहकी संस्थापक जेसिका मेलिनाका अनुसार हालसम्म उनीहरुले १० हजारभन्दा बढी केसहरु समाधान गरिसकेका छन् । उनीहरु जासुसीका लागि परम्परागत विधिदेखि ड्रोन सर्भिलेन्स र गोप्य क्यामेराको प्रयोग गर्छन् । विश्वासघात गर्नेहरुमा महिला वा पुरुष भनेर विभेद नगरे पनि यस समूहका सदस्यहरुमा भने सबै महिला महिला मात्र रहेका छन् । ‘यो कामका लागि महिला नै उपयुक्त छन्,’ ला रिपब्लिका पत्रिकासँग कुराकानी गर्दै मेलिनाले भनिन्, ‘उनीहरुले पुरुषहरुभन्दा राम्रो नतिजा ल्याउने भएकाले मैले मेरो समूहमा महिला मात्रै राख्ने निर्णय गरेकी हुँ । उनका अनुसार महिलाहरुलाई धेरैले याद नगर्ने र उनीहरुले लुकेर काम गर्न सक्ने हुँदा राम्रो नतिजा ल्याउन सक्छन् । मानिसहरुलाई आफ्नो पार्टनरले धोका दिएको पत्ता लगाउने आवश्यकताले यो समूहको जन्म भएको मेलिनाको भनाई छ । विशेष गरेर सम्बन्धविच्छेद र बालबालिकालाई आफूसँगै राख्नका लागि प्रमाणहरु चाहिने उनले बताइन् । पूर्वजासुस रहिसकेका आफ्नो अंकलसँग काम गरेपछि उनलाई बजारको यो आवश्यकता पूर्ति गर्ने सोच आएको थियो । फिनेक्स स्क्वाडमा कार्यरत जासुस आडा हिनोस्ट्रोजाका अनुसार हरेक केस फरक–फरक हुन्छन् । तर कहिलेकाहीँ केही घण्टामा नै सबै प्रमाणहरु जुट्छन् । उनले सबैभन्दा चाँडो ४ घण्टाभित्र एउटा केस समाधान गरेको सुनाइन् । पछिल्ला २० वर्षमा समूहले संकलन गरेको तथ्यांक अनुसार महिलाहरु पुरुषभन्दा बढी धोका दिन्छन् । जासुस लिज रोड्रिग्वेजका अनुसार उनीहरुले हेर्ने ७० प्रतिशत केसहरु महिलाको हुन्छ । संस्थापक मेलिनाका अनुसार गत वर्ष उनले प्रति हप्ता हेरेको १० केसहरुमध्ये ८ वटा महिलाले धोका दिएको बारेमा थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *