टीआरसी विधेयक संसद्मा पेस हुने विषय भनेको सुखद् समाचार : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले डेडिकेटेट र ट्रंकलाइनका विषयमा अप्राकृतिक आरोप लगाएको बताएका हुन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने कुरा भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ, प्रचण्डको धारणा उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेका छौँ ।
प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसद्मा पेस हुने विषय भनेको सुखद् समाचार भएको सुनाएका थिए । बैठकमा उनले बंगलादेशको घटनाबाट नेपालमा पार्ने असर प्रभावबारे आफ्नो धारणा सापकोटाले जानकारी दिए । त्यसबाट पनि हामीले शिक्षा लिनुपर्छ । जनताका दैनिक समस्याका विषयमा अघिल्लो सरकारले सुशासनको पक्षमा गरेका काम अघि बढाउनु त कता हो राम्रो काममा पनि अवरोध सिर्जना गरिरहेको छ, सापकोटाले भने । आजबाट सुरु भएको स्थायी कमिटी बैठक शनिबार पनि बस्नेछ ।