माछापुच्छ्रे बैंक र इक्यान झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता
काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता पश्चात इक्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहजरूपमा उपलब्ध गराउनेछ ।
साथै, इक्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।