प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्माणार्थ पेस गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि विधेयकमाथिको छलफल अघि बढ्नेछ । छलफलमा दलका शीर्ष नेताहरूले मात्र भाग लिने र विधेयक पारितका लागि निर्माणार्थ पेस गरिने काँग्रेस प्रमुख सचेतक घिमिरेले बताए। आजको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रिय सभाको बैठक भोलि दिउँसो सवा १ बजेलाई बोलाइएको छ। राष्ट्रिय सभामा पनि भोलि नै विधेयक पेस गर्ने तयारी गरिएको छ।