मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै सारती

घोराही । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्न सक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चना चटपटे मकैबाट पनि तयार गर्न सकिन्छ भन्ने सबैलाई थाहा छैन ।

तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकै खेती हुने भएकाले सारती अधिकारीले मकै चटपटे बेच्दै आएका छन् । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारीले मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएका छन् । सुरुमा आफूले पनि भुजा, चाउचाउको चना चटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम सुरु गरेको बताए ।

‘घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरूसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ’, उनले भने । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनी बताउँछन् । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । 

२८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानी पुरीको व्यवसाय पनि गर्दै आएका छन् । यो व्यवसायबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक २०–२५ हजार बढीको कारोबार गर्दै आएको उनले बताए । ‘मासिक १०–१२ हजार बचत हुने गरेको छ’, उनले भने । अघि पछिको तुलनामा शनिवार अझ अलि बढी व्यापार हुने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *