विकल्पको कुरा
वि.सं. २००७ सालको क्रान्तिदेखि नै नेपालको राजनीतिलाई प्रभावित गर्ने दुई ठुला दल नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी प्रति अहिले जनतामा नराम्रोसँग वितृष्णा पैदा भएको छ । त्यस्तो वितृष्णाको कारण ती दुई दलले लिएको सैद्धान्तिक बाटोले भने होइन । काँग्रेसको समाजवाद र कम्युनिस्टको साम्यवाद प्रति त जनता अहिले राम्रोसँग जानकार समेत छैनन् । जनताको त के कुरा पार्टी कार्यकर्ता समेत पार्टीको मार्गदर्शक सिद्धान्त , रणनीति कार्यनीति अधिकतम र न्यूनतम कार्यक्रमको बारेमा सामान्य जनकारी राख्दैनन् । पार्टी नेतालाई पनि कार्यकर्तालाई प्रशिक्षित गर्ने , तिनमा पठन संस्कृतिको विकास गराइ योग्य बनाउने तिर रुचि नै छैन । चुनाव जित्न त्यस्तो गर्नु मूर्खता हुन्छ भन्ने लाग्छ , तिनलाई । परिणाम स्वरूप प्रत्येक पार्टीमा जनताबिच लोकप्रिय, जनताको काम गर्न सक्ने क्षमता भएका कार्यकर्ताको कमी छ ।जनतालाई विश्वासमा लिएर काम गर्न सक्ने कार्यकर्ताको अभावका कारण पार्टी र जनताको बिचमा दुरी बढ्दै जाँदै छ ।
जनता नेताको कार्यशैली र व्यवहारबाट वाक्क दिक्क भइसकेका छन् । तिनलाई अब यी पार्टी र तिनका नेताबाट जनता र देशको काम हुन्छ भन्ने पटक्कै विश्वास छैन । झन्डै साँढे सात दशकको इतिहास बोकेका दलहरूको यो दशा हुनु राष्ट्रका लागि दुर्भाग्य बनेको छ । काँग्रेस र कम्युनिष्ट पार्टीप्रति इमानदार कार्यकर्ता नै अहिले रुष्ट छन् । यस्तो अवस्थामा राजनीति दिसाहीन बन्नु , अन्योल उत्पन्न हुनु र विकल्पका लागि भतारिनु स्वाभाविक नै हो, स्थापित र पुराना पार्टीले बाटो बिराउँदा मुलुकलाई सही बाटोमा हिँडाउने दुइटा विकल्प रहन्छ । पहिलो हो गलत बाटोमा जान लागेको पार्टी र मति भ्रष्ट बन्दै गरेका नेतालाई सुध्रारेर सही बाटोमा ल्याउनु र अर्को त्यस्ता दल र तिनका नेताको विकल्प खोज्नु । अहिले दुइटै काम राम्ररी भएको छैन । नेताहरू सुध्रेलान्, जनता र राष्ट्रको हितमा काम गर्लान् भन्ने आस भर्दै गएपछि गलत तत्त्वले फाइदा उठाउने खतरा बढ्नु स्वाभाविक हो । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको एउटा जमात वितृष्णा पैदा गराउने, सामाजिक सदभाव बिगार्ने र मुलुकलाई भड्खारोमा हाल्ने दुष्कर्म भइरहेको छ । यस्तोमा वैकल्पिक शक्तिको निर्माण निकै महत्त्वपूर्ण बन्न सक्थ्यो । तर जनताप्रति समर्पित, देश हितमा प्रतिबद्ध र स्पष्ट नीति कार्यक्रम साथ अघि बढ्न तत्पर शक्तिको उदय सही विकल्प पनि नकाम भएर गयो । विकल्पको रूपमा आएकाहरू नौटङ्की गर्ने , जनतालाई ढाँट्ने , आफैँ निहित स्वार्थमा फसेर आपराधिक काम गर्ने गरिरहेका छन् । जनता र राष्ट्रको लागि लामो सङ्घर्ष गरेकाहरूबाट निराश भएका जनता र केही हुन्छ कि भनेर त्यता लागेका कार्यकर्ता अरू सङ्कटमा पर्दै गएका छन् । र, तिनले विकल्प बन्द कि भनेको पार्टी गलत छ भन्ने बुझ्न थाले पछि त्यस्ता पार्टी पनि छोड्ने लहर चलेको छ ।
यसले मुलुकको आर्थिक राजनीतिक अवस्था अझ डाँवाडोल हुने निश्चित छ । जनताले जसलाई विकल्पको रूपमा रोजेका थिए ती सही अर्थमा विकल्प थिएनन् । साधारण जनताले त विकल्पको रूपमा स्थापित हुन खोज्नेहरू कस्ता हुन भनेर पहिले नै बुझ्न गाह्रो पर्नु स्वाभाविक हो तर कार्यकर्ता बन्ने , टाँइफाँइ गर्दै जनतालाई गुहराममा राख्नेहरूले भने फेरि जनतालाई फसाएका छन् । यसबाट पनि के कुरा स्पष्ट भएको छ भने नेपालको राजनीतिले अझै काँग्रेस कम्युनिस्टको विकल्प खोज्ने वेला भएको छैन । यो भने अवश्य नै हो नेतृत्वको विकल्प खोज्ने बेला भने धेरै पहिले नै भइसकेको हो । यही नेतृत्व र यही परम्परावादी शैलीबाट भने अब मुलुकको नेतृत्व सम्भव छैन । मुलुकको त के आफ्नै पार्टी सञ्चालन पनि अब त्यसरी चल्दैन । तसर्थ , लामो योगदान गरेका , थकित भएका र बारम्बार पदमा गएर बदनामी कमाएका काँग्रेस कम्युनिस्ट नेताहरूले अब सक्षम , योग्य र कामयाब युवालाई अघिसारेर आफूले विश्राम लिनु जरुरी छ । समय छदै त्यसो गर्न सकिएन भने हुने महाविनाको क्षतिपूर्ति कसैले पनि गर्न सक्दैन ।