सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् ।
आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गरे । उनले १८ वर्षदेखि निष्कर्षविहिन रहेको संक्रमणकालीन न्याय सम्बन्धि विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिदा निष्कर्षमा पुग्न सफल भएको स्पष्ट पारे ।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले एक ठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए ।
सत्ता पक्ष र प्रतिपक्ष दुबै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको शासन सुनिश्चित गर्नेलगायतका कुराहरुमा सबै सँगै मिलेर काम गर्नुपर्नेमा समेत उनले जोड दिए ।