टुँडिखेलको नाराबाजी हाम्रो सभ्यताबाहिर थियो : गृहमन्त्री लेखक
काठमाडौं । यही भदौ १० गते गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेकै आरोपमा तीन युवालाई पक्राउ गरिएको घटनाको चौतर्फी विरोध भएको छ । नाराबाजी गरेको आरोपमा कञ्चनपुरका दीपकसिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए । उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएर प्रहरीले थुनामा राखेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले पत्रकारसँग कुरा गर्दै विशुद्ध सांस्कृत पर्वमा अराजकता देखाउँदा पक्राउ गर्न परेको बताएका छन् । शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको पत्रकारसँग भेटघाटका क्रममा बोल्दै खेलकले भने, हामी जुन राजनीतिक पार्टीबाट आएका छौँ ।
यसको मुख्य उद्देश्य भनेकै बहुलबाद हो । नागरिकको स्वतन्त्रता हो । त्यो भनेको नागरिकले बोल्न पाउनुपर्छ, विचार राख्ने स्वतन्त्रा हुन्छ । तर, आलोचना कहाँ गर्ने ? हाम्रो सभ्यता के हो ? एउटा सांस्कृतिक कार्यक्रममा अरूले आयोजना गरेको कार्यक्रममा पुगेर नाराजुसुस गर्नु ठिक होइन, गृहमन्त्री लेखकले भने । सडकमा जति पनि नाराजुलस गर्न पाइने भए पनि विरोध गर्दा अरूको भावनामाथि विचार पुर्याउनुपर्ने उनको भनाइ छ । गौराका पुगेका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराजुलुस गरेका थिए । नाराजुसुल गरेकै आरोपमा युवा पक्राउ गरिएको भन्दै बिहीबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले पक्राउ परेका तीनै जनालाई रिहा गर्न माग गरेका थिए ।