वीपीको सान्दर्भिकता सकिएको हो ?

अहिले वीपी कोइरालाको १११औं जन्मजयन्तीको सन्दर्भ परेको छ । आजको पुस्ताका नेपालीलाई वीपी कुन चराको नाम हो भन्ने थाहा छैन । इतिहास र साहित्यको ज्ञान राख्ने थोरैलाई चाहिँ विश्वेश्वरप्रसाद कोइराला अर्थात वीपीको बारेमा जानकारी छ । कुनै समय नेपालका गाउँगाउँमा वीपीको नाम पुगेको थियो । त्यसबेला आइमाइ केटाकेटीले समेत विश्वेश्वर र राजाको झगडाको कुरा थाहा पाउँथेँ । वीपी को थिए, तिनले के गरे र तिनलाई हामीले किन सम्झना गर्नुपर्छ, किन अनुकरण गर्नुपर्छ भन्ने सन्दर्भमा विमर्श गर्नु उचित नै होला । वीपी त्याग, संघर्ष र समर्पणको त्रिवेणी थिए ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जुन अतुलनीय योगदान दिए, त्यसभन्दा रत्तिभर कम योगदान नेपाली साहित्यको श्रीवृद्धिमा पनि दिए । उनको राजनीतिमा संलग्नता र साहित्यतर्फको आकर्षण उनको जीवनमा एकसाथ भएको देखिन्छ । कर्नेलको घोडा, दोषी चश्मा, हिटलर र यहदी, नरेन्द्र दाई, सुम्निमा, मोदी आइन, बाबुआमा छोरा, तीन घुम्ती जस्ता कालजयी कृति नेपाली समाजलाई दिने वीपी प्रजातन्त्रका एक दृढनिश्चयी योद्धा थिए । उनले नेपालमा प्रजातन्त्र स्थापनाको आन्दोलनको संगठन गरे, नेतृत्व गरेर राणा शासनको चंगुलबाट मुक्त गराए । राणा शासन विरुद्धको संघर्षमा उनले जेलनेल, कठोर यातना भूमिगत जीवन र निर्वासनको जीवनसमेत बिताउनु पर्यो ।

उनले राणाको जेलमा मृत्युको मुखैमा पुग्ने अवस्था पनि बेहोर्नु पर्यो । राणाहरुको यातनागृहबाट मुक्त हुन उनले आमरण अनसन समेत गरे । उनले राजनीतिक सामाजिक आन्दोलनमा लाग्दा पारिवारिक जीवन डावाडोल भयो । पिताजी कृष्णप्रसाद कोइराको मार्गदर्शनमा हिँडेर वीपीले नेपाली जनतालाई राणाको दासताबाट मुक्त गराउन ठूलो योगदान दिए । सिंगो परिवार एकै पटक जेल पर्ने, सम्पत्ति जफत गर्ने, गुजाराको कुनै आधार नछाड्ने गरी राणाहरुले खेद्ने गर्दा पनि नझुकेका वीपी नेपाली राजनीतिका एक सिद्धहस्त नेता, अगुवा र मार्गदर्शक हुन् । उनको पिताजीको मृत्यु राजाहरुको बन्दी गृहमै भयो । वीपी बराबरको त्याग मात्र नेपाली राजनीतिक क्षेत्रमा सायदै दोस्रो व्यक्ति होला ।

राजनीतिमा अनेक उतारचाढाव आउनु, सत्ता र शक्तिको स्वस्थ्य- अस्वस्थ खेल चल्नु र त्यसमा शक्ति सन्तुलन बिग्रँदा सत्ताबाहिर हुनुसम्म स्वभाविक हो तर वीपीको जीवनमा चाहिँ त्यो भन्दा अलि फरक अवस्था आयो उनले पार्टीभित्रै पनि परिवारमै पनि आफैंले मुक्त गराएका राजासँग पनि पटकपटक संघर्ष गर्नुपर्यो । प्रधानमन्त्री हुँदै गिरफ्तारिमा परेका वीपी सुरुमा आठ वर्ष जेल, नौ वर्ष प्रवास र पुनः पटकपटक जेल बसाइले जीर्ण भएका थिए भने अर्वूद रोगले लामो समयदेखि पीडित थिए । अनेक समस्या, उल्झन र बाधाका बाबजूद उनी नेपाली राजनीतिको केन्द्रमा थिए । प्रजातन्त्रमा अगाध विश्वास राख्ने वीपी सामाजवादका व्याख्याता, प्रयोक्ता र दृढ अनुयायी थिए । विकृतिको चरमसीमा भेटिसकेको वर्तमान राजनीतिक स्थितिमा वीपीको नामले मात्र पनि खडेरीमा शीतको काम गर्छ । वीपीलाई महामानव भनेर देवत्वकरण गर्नेहरु पनि अतिवादी नै हुन् । उनी यही धर्तिमा जन्मिएका एक होनाहार सपूत हुन ।

हामीले उनीबाट सिक्नुपर्ने र अंगीकार गर्नुपर्ने अनेक कुरा छन् । नेपाली राजनीति पथभ्रष्ट, विकृत र भ्रष्ट भएकाले अहिले जनताले नेता र पार्टीप्रति विलकुलै विश्वास गर्न नसक्ने स्थिति आएको छ । यसको मूल कारण हो अग्रजको आदर्श, सिद्धान्त र त्यागलाई उपेक्षा गर्नु अर्थात आफ्नो जीवन दर्शन बनाउन नसक्नु । वीपी र वीपीजस्तै निस्वार्थी, त्यागी र समर्पित अग्रजबाट हाम्रा नेताले किन सिकेनन् ? राजनीतिलाई सत्ता प्राप्ती ऐश आरामको साधन बनाउन किन खोजे ? यो प्रश्नको उत्तर खोज्न सक्ने हो भने वर्तमान समयका राजनीतिक र आर्थिक समस्याको समाधान सहजै पत्ता लाग्न सक्छ । वीपी गौतमबुद्ध, पृथ्वीनारायण शाह, भानुभक्तपछिका सर्वाधिक लोकप्रिय इतिहास पुरुष हुन् । लिलिपुटहरुले आफूलाई वीपीभन्दा बढ्ता आदर्शवादी, दुरदर्शी र सक्षम नेता ठान्ने गरेका छन् तर कामले भने ती निकम्मा नै सावित भएका छन् । वीपीको आकर्षण के थियो, उनी किन युगयुग जीउने स्थिति बन्यो भन्ने नहेरी उनलाई मजाक बनाउने प्रयत्नसम्म भयो । वि.सं. २०७४ को आम चुनावमा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले वीपी बाचेका भए एमालेमा आउँथे भनेर आफ्नो हैसियत देखाए । वीपीको नामलाई मृत्यु पश्चात अनेक ढंगले प्रयोग गर्ने काम भइरहेका छ ।

तर उनलाई के कारण पुस्तादर पुस्तासम्म सम्झना गर्नुपर्न अवस्था आयो भन्ने तर्फचाहिँ कसैको ध्यान गएको छैन । नेपाललाई समृद्ध, शान्ति र विकसित बनाउने मनोकांक्षा पालेका वीपीसँग अरु समकालीन नेताहरु भन्दा स्पष्ट दृष्टिकोण थियो । उनले नेपालको अवस्था राम्रोसँग बुझेका थिए । नेपाल भनेको गाउँ हो, गाउँमा बस्ने गरिब जनता हुन् र नेपालको हित भनेको तिनैको हित हो भन्ने ज्ञान उनीसँग थियो । त्यसैले समाजवादको व्याख्या गर्दा गाउँका जनता र गरिबलाई गरिबीबाट मुक्त गर्नु नै समाजवादको उद्देश्य हो भनेका छन् । योजना आयोगमा हलो जोतिरहेको किसानको तस्विर राख्नुपर्ने प्रसंग होस वा पन्ध्रवर्षमा प्रत्येक नेपालीलाई गरिबीबाट मुक्त गर्छु भन्ने योजना होस्, त्यो कुनै दुरदर्शी राजनेताले मात्र गर्नसक्ने कुरा हो । आजका हाम्रा नेतालाई त हाम्रो समस्या के हो भन्ने समेत थाहा छैन । के गरे नेपाल समृद्ध हुन्छ, कसरी नेपाली सुखी हुन्छन् । ज्ञान नभएका नेताले आफूलाई युगकै सर्वाधिक चर्चित र योग्य नेता ठान्छन् । वीपीको जीवनको उत्तरार्ध राष्ट्रियता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाको सम्बन्धमा बढ्ता चिन्तन गरेर बित्यो । राष्ट्रिय मेलमिलापको नीतिमा राजासँगको सहकार्य र प्रजातन्त्रको लडाइँलाई उनले वडो स्पष्टसँग परिभाषित गरेका छन् ।

‘राष्ट्रियताको लागि राजासँग सहकार्य र प्रजातन्ज्त्रका लागि राजासँग संघर्ष’ भन्ने पछिल्लो अवधिमा नेपाली कांग्रेसले आफ्नो मूल नारालाई ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ भन्नुको तात्पर्य पनि त्यही नै हो । अहिले त कांग्रेस पार्टी स्वयंम वीपीको सिद्धान्तबाट च्युत भइसकेको छ । सिंगो राष्ट्रलाई मार्गदर्शन गर्न सक्ने वीपीको मृत्युपछि उनकै पार्टीले समेत उनको सिद्धान्त र विचारलाई परित्याग गरिदियो । वीपीलाई सम्झना गर्नु भनेको श्राद्ध गरेझैं, तर्पण दिएर औपचारिकता पूरा गरेझै गरी लोकाचार गर्नु होइन । बदलिएको परिस्थितिमा वीपीका विचारलाई कसरी सान्दर्भिक ढंंगले परिभाषित गर्ने र लागू गर्ने भन्ने सवाल नै मुख्य हो ।

अब नेपाली कांग्रेसले मात्र होइन, देशका अन्य दलले पनि वीपी अबको राजनीतिक सन्दर्भमा उपयुक्त छन् कि छैनन् उनको विचार मानवजाति, हाम्रो मुलुक र गरिबी उन्मुलनको लागि उपयुक्त छ कि छैन भनेर अध्ययन गर्नु जरुरी छ । त्यो विशुद्ध प्राज्ञिक विमर्शका लागि होइन समाजशास्त्रीय दृष्टिकोणबाट गरिनुपर्छ र अध्ययनको निष्कर्ष हाम्रो समाजका लागि उपयुक्त भए लागू गरिनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *