कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको छ : सभापति देउवा

काठमाडौं । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सत्ताका निम्ति कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनले जिकिर गरे । उनले सत्ता सहकार्य गरेर दलहरूले जनताका पक्षमा काम गर्नुपर्ने बताए । आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जनताका पक्षमा खटिएर काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको उनले उल्लेख गरे । दुःखमा परेका जनताका पक्षमा काम गर्न उनले नेता–कार्यकर्तालाई सचेत गराए । एमाले र कांग्रेस दुईवटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुईवटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । तर, प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाएअनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुईवटा पार्टी मिलेका छन्, आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यसकारण दुईवटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ ।

तर, हामीले काम पनि त्यहीअनुसार गर्नुपर्‍यो । कांग्रेसले कामै गर्दैन भन्छन् है, विचार गर्नू । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन, अनि खाइदेला नि अरू पार्टीले १ त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुपर्‍यो । जनतासँगको सम्बन्ध बढाउनुपर्‍यो । जनताको दिल जित्नुपर्‍यो । जनताको कामहरू गर्नुपर्‍यो । त्यसकारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ । हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरू गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि – त्यति मात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्‍यौँ भने, कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ, यसै काममा लाग्नका लागि म सबै साथीभाइहरूलाई आग्रह गर्न चाहन्छु । अहिलेको यो संविधान छ । समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएका । यसमा यति धेरै गाह्रो छ । कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि, हामीले यो गाह्रो काम नै गर्नुपर्‍यो । अप्ठ्यारो काम नै गर्नुपर्‍यो । त्यसको निम्ति मिहिनेत धेरै गर्‍यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ । कम से कम नम्बर वान पार्टी, पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुनेछ । यही काम लाग्न अनुरोध गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *