हुलतन्त्रको दुष्परिणाम !
संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अमेरिका रहेका नेपालीलाई सम्बोधन गर्ने कार्यक्रममा विरोधको प्रयासपछि कार्यक्रम नै रद्द गरिएको प्रचारले नेपाली समाज उद्वेलित भएको छ । नेपाली जाति अहिले उद्दण्ड, उद्धंखल र अराजक बनेर गएको रहेछ भन्ने स्पष्ट देखिएको छ । जहाँ पनि जे पनि गर्न पाइन्छ भन्ने मनोविज्ञानले नेपाली जाति नराम्रोसँग पीडित भएको छ ।
अमेरिकामा गएर नेपाल र नेपाल सरकारको विरोध गर्नु, नेपालको हुर्मत लिने काम गर्नुलाई ठुलो कदम ठान्नेहरू धेरै देखिएका छन् । नेपालभित्र अहिले धेरै समस्या छन् । नेपाली समाज विभाजित छ । राजनीतिक स्वार्थमा लाग्नेहरू देश र जनताका लागि भन्दा आफ्नो दलीय स्वार्थमा लाग्नेहरू देश र जनताका लागि भन्दा आफ्नो दलीय स्वार्थलाई प्राथमिकता दिन्छन् । देशको गरिमा, मान, र इज्जतको खिल्ली उडाउँदा मज्जा आउनेहरूको सङ्ख्या बढ्दै गएको छ । आफूलाई बौद्धिक ठान्ने, राजनीति बुझेको र राष्ट्र एवम् जनताको पक्षमा खडा रहने दाबी गर्नेहरू अमेरिका गएर आफ्नै प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने र मुर्दावादको नारा लगाउने कार्यलाई महान् ठानिरहेका छन् । यदि प्रधानमन्त्रीको कार्यशैली व्यवहार र चरित्र गलत छ भन्ने लाग्छ भने देशभित्रै रहेर त्यसको विरुद्ध डटेर सङ्घर्ष गर्ने बाटो किन अपनाइँदैन । देश प्रतिको जिम्मेवारी र माया नहुनेहरू सर्वत्र देशको हुर्मत लिन तयार भएर बसेका हुन्छन् । नेपालको गरिमा वृद्धि हुँदा देशले अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय हुने काम गर्नेहरूलाई प्रोत्साहित गर्ने परम्परा नै लोप भएर गएको छ । अमेरिका बसेर आएका सिके राउतले एक पटक सार्वजनिक रूपमै नेपाली झन्डा जलाए । त्यसको जुन रूपमा विरोध हुनुपर्ने हो त्यो भएन । नेपालको गौरवमाथि आँच आउने र दाग लाग्ने कुराले आज कुनै नेपालीको शिर लज्जाले झुक्न छाडेको छ । त्यो अवस्था कस्तो होला तुच्छ राजनीतिक स्वार्थका लागि राष्ट्रकै हुर्मत लिने काम हुन्छ र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चहरूमा वेइजत गराउने काम हुन्छ । नेपालको इज्जत बढाउन अन्तर्राष्ट्रिय मञ्चहरूमा यसलाई विवादित बनाईनु हुँदैन । देशभित्र असहमति जनाउने, विरोध गर्ने कुरा जति स्वाभाविक छ त्यति नै अन्तर्राष्ट्रिय मञ्चहरू देशभित्रका, दलीय मुद्रालाई उछाल्नु घातक हुन्छ । नेपालभित्र अहिले कुनै स्वतन्त्रता सङ्ग्राम चरम चलिरहेको छैन । हो भ्रष्टाचार बेथिति , विसङ्गति र विकृति चरम सीमामा पुगेको छ । तर त्यसको विरोध नेपालभित्रै गर्नु उचित हुन्छ । विदेशी भूमिमा नेपालीका आन्तरिक समस्याको पसल नफिजाउँ । त्यो शोभनीय हुँदैन ।
अहिले सामाजिक सञ्जाल मार्फत जन्मिएका राजनीतिक दल र केही आइकनहरूका कारण मुलुक गम्भीर सङ्कटमा पर्दै गएको छ । विद्यालयको वार्षिक कार्यक्रममा अभिभावक दिवसमा, संविधान दिवस र सांस्कृतिक कार्यक्रममा पनि हुल हुज्जत गर्ने । जनप्रतिनिधिहरू नै उद्दण्ड र गैर जिम्मेवार रूपमा प्रयोग हुने जस्ता कुराले हाम्रो यात्रा कुन दिशातर्फ अग्रसर छ भन्ने इगित गर्छ । इन्द्रजात्रामा काठमाडौँ नगर प्रमुख बालेन्द्र साहले देखाएको रवैया र केही समय अघि टुँडिखेलमा देउडा कार्यक्रममा भएको नाराबाजीलाई प्रधानमन्त्री र वर्तमान दलहरूको लोकप्रियता मापनको मापदण्डको रूपमा प्रस्तुत गर्न खोजिनु उचित होइन । सायद अमेरिकाको त्यो प्रकरण पनि त्यसैको निरन्तरता होला ।
इन्द्र जात्रामा आफ्नो फोटो अङ्कित टिसर्ट पहिराएर हुलकाहुल प्रवेश गराउने योजना बनाएर आफूचाहिँ नगरपालिका कै पैसामा विदेशमा रमाइलो गर्ने काठमाडौँ नगरप्रमुखको नैतिक दायित्व हो ? उनले काठमाण्डौँलाई त्यस्तै दिशातर्फ लान खोजेका हुन ? त्यस्तै रूपमा टुँडिखेलको कार्यक्रमलाई लिन सकिन्छ । त्यसको अर्थ यो होइन कि हाम्रो नेताहरू ठिक छन् । तिनको कार्यशैली र व्यवहार उचित छ । तिनको व्यवहार गलत भएर र तिनको नियत खराब भएर नै आज यो अवस्था आएको हो । तर पुराना नेताले भन्दा उत्तरदायी ढङ्गले , मनपरी गरेर देश लुट्ने र आफू पन्छिने प्रयास नयाँ पुस्ताबाट हुँदैछ । अब नेपाललाई जोगाउने हो र नेपालीको गरिमा वृद्धि गर्ने हो भने यो हुल तन्त्र र लुट तन्त्रलाई जसरी पनि नियन्त्रण गर्नुपर्छ ।