अनौठो प्रजातिको मुसा जो लगातार ३ हप्तासम्म यौन सम्पर्क गरेर मर्छ
आन्टेचिनस वर्गमा पर्ने एउटा निकै सानो आकारको मुसाको भाले सायद संसारकै सबैभन्दा अभागी भाले होला । अष्ट्रेलियामा पाइने यो वर्गका मुसाको हरेक प्रजातिका भालेका लागि यौनसुख प्राप्त गर्नु आत्महत्या गर्नु सरह हो । आन्टेचिनस मुसाका भालेको एकमात्र काम भनेको पोथीलाई गर्भिणी बनाउनु हो । आफ्नो त्यो कर्म पूरा गरेसँगै भालेले मृत्युवरण गर्नुपर्छ । अझ दर्दनाक त के भने जब भालेको मृत्यु हुन्छ तब त्यहीँ भालेले गर्भवती बनाएका पोथीहरुले उसको लास खान्छन् । मरेको भालेको मासु खाएरै पोथीले गर्भावस्थाका लागि आवश्यक पोषण प्राप्त गर्दछ । आम रुपमा यो जातका मुसाहरुले किराफट्यांग्रा, माकुरा, स(साना सरिसृपका साथै भ्यागुताहरु समेत खाने गर्दछ । आन्टेचिनस जातका हरेक प्रजातिमा एउटा समानता के छ भने यसका भालेहरुको विशेषता भनेकै यत्ति हो कि उनीहरु पोथीसँग एक पटकमा लामो समयसम्म यौन सम्पर्क गर्दछन् । उनीहरुको संसर्ग यति भीषण हुन्छ कि त्यसका कारण भालेको शरीरका अंगहरु नै फेल हुन्छन् र उसको मृत्यु हुन्छ । आन्टेचिनस मुसाका १५ प्रजातिहरु यस्ता छन् जसमा सबै भालेहरुको नियति उस्तै हुन्छ, अर्थात् यदि बाँच्नु छ भने यौन सम्पर्क नगर । तर भालेका लागि आफ्नो ज्यान भन्दा यौन सम्बन्ध नै प्रिय बन्दछ । जसका कारण एकै जोडी भाले र पोथीबीच लगातार दुई देखि तीन हप्तासम्म म्याराथन यौन सम्पर्क चलिरहन्छ । त्यसक्रममा भालेले निद्रा र भोक समेत त्याग्दछ । उसले अधिकांश समय तथा उर्जा संसर्गमै लगाउँछ । दिनमै करिब १४ घण्टाजति त उसले यौन सम्पर्क नै गर्दछ । संसर्गको त्यो सिलसिला तबमात्रै अन्त्य हुन्छ जब भालेको मृत्यु हुन्छ । थकान, तनाब, भोक तथा उर्जा शून्यताका कारण भालेको शरीरका अंगहरुले काम गर्न छाड्छन् । त्यसक्रममा उसको शरीरमा टेस्टोस्टेरोन र कर्टिसोल हर्मोनको मात्रा अति नै उच्च हुन्छ, जसले अंगहरु फेल गराउँछ । फलतः उसको मृत्यु हुन्छ । क्वीन्सल्याण्ड विश्वविद्यालयका जीव वैज्ञानिक डायना फिसरका अनुसार म्याराथन संसर्गपछि पनि भालेको ज्यान बाँच्ने घटना निकै दुर्लभ हुन्छ । साथै त्यस्तो अवस्थामा भालेले शुक्रकिट उत्पादन बन्द गर्दछ र जिउबाट अण्डकोष नै छुट्टिन्छ । यस्तोमा भालेले यौन सम्पर्क गर्नै छाड्छ । जसका कारण भालेको ज्यान जोगिन्छ र त्यसपछि उसले कहिल्यैपनि प्रजनन गर्न सक्दैन । उक्त मुसामा भालेले ज्यानै हालेर यौन सम्पर्क गर्नुको पनि कारण छ । वास्तवमा उनीहरुको शुक्रकिट इपिडिडाइमस नामक अंगमा जम्मा हुन्छन् । जसका कारण पिसाबसँगै शुक्रकिट लगातार बाहिर निस्कन्छन् । त्यसैले प्रजननका लागि भालेसँग निकै कम समय रहन्छ ताकि नपुंसक बन्नु वा मर्नुअघि उसले कुनै पोथीसँग यौन सम्पर्क गरेर उसलाई गर्भवती बनाउन सकोस् र वंशलाई अघि बढाउन सकोस् ।