जहाज, बस, रेल र कार दुर्घटनामा बाँचेका व्यक्तिले जिते १० लाख डलर

संसारमा केही मानिसहरूको भाग्य यतिधेरै चम्किलो हुन्छ कि उनीहरूले डोकोमा दूध दुहेपनि चुहिंदैन भनिन्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि भाग्यले उनीहरूलाई साथ दिन्छ । कहिलेकाही त ती भाग्यमानीहरुको सफलता कुनै चमत्कारभन्दा कम लाग्दैन । क्रोएसियाका एकजना मानिस यस्तै थिए, जसलाई संसारकै सबैभन्दा भाग्यमानी मान्छे भन्दा फरक पर्दैन । फ्रेन सेलाकको भाग्य देख्दा जोकोहीलाई आरिस लाग्नसक्छ । उनको जीवनमा जे(जे भएको छ त्यो कुनै फिल्मको कहानी जस्तो लाग्नसक्छ । उनको जीवन अविश्वसनीय रुपबाट भयानक दुर्घटनाहरुले भरिएको छ । तर, उनले चमत्कारिक रुपमा सबै दुर्घटनालाई परास्त गरे । सेलाकको जन्म सन् १९२९ मा भएको थियो । संगीत विषय पढाउने शिक्षक हुन् । उनको जीवन निकै सामान्य थियो । तर, जब उनी बस तथा रेल दुर्घटनामा परे जीवनमा असामान्य घटनाहरुले पछ्याइरहे । बीबीसीका अनुसार मृत्युको मुखबाट पटक पटक बाँचेका उनको दौड सन् १९५७ मा सुरु भएको हो । त्यसबेला उनी चढेको बस नदीमा खसेको थियो । त्यसपछि पनि ६ पटक मृत्युसँग उनको जम्काभेट भयो । एकपटक उनी चढेको रेल लिकबाट उछिट्टियो र नदीमा खस्यो । तर, त्यसमा पनि उनी बाँच्न सफल भए । त्यसपछि उनी एकपटक होइन २ पटक दुर्घटनाग्रस्त कारमा परे । त्यसबाट पनि बाँच्न सफल भए । त्यसका अलावा एकपटक उनी चढेको जहाज दुर्घटना भयो । तर, भाग्यवस घाँस थुपारेको ठाउँमा खसेका हुनाले उनको ज्यान जोगियो । पटक पटकका दुर्घटनाबाट अविश्वसनीय रुपमा बाँच्न सफल भएका सेलाकलाई त्यतिबेलै सबैभन्दा भाग्यमानी मानिस भन्न थालिएको थियो । तर, सन् २००० मा त सेलाकले हद नै पार गरे । उनले करिब १० लाख डलरको लट्री नै जिते । आफूले जितेको चिठ्ठा रकममध्ये अधिकांश उनले साथीभाइ र परिवारलाई दिए । अनि बाँकी रकमले एउटा भव्य घर खरिद गरे । तर, सन् २०१० मा उनले उक्त घर बेचिदिए र आफ्नी पाँचौं पत्नीसँग साधारण जीवन बिताउन थाले । अन्ततः सन् २०१६ को नोभेम्बर ३० मा उनको कालगतीले मृत्यु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *