विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारीसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । त्यसलाई बेवास्ता गरे सदन र सडकबाट आन्दोलन गर्ने उनले चेतावनी दिएका हुन् । वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टीपंक्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उनले उल्लेख गरे । सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैँले पुष्टि गरेको उनको भनाइ थियो । आफूहरूले खबरदारीसभा राख्नेबित्तिकै सत्तारूढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उनले बताए । माओवादीलाई सरकारको चिन्ता नभएको उनले उल्लेख गरे ।

आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको उनले बताए । भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादीप्रति पनि आशंका उब्जेका बेला सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिइएको उनले टिप्पणी गरे । यो देश नेपाली कांग्रेस र नेकपा (एमाले)को बिर्ता नभएको उनले बताए । संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न समेत उनले चेतावनी दिए । उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकामा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्र पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए । अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने उनले स्पष्ट पारे । उनले अब उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौँ युवालाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको र त्यसलाई कसैले मेटाउन नसक्ने उनले जिकिर गरे । प्रचण्डले जनताको हकअधिकारका निम्ति निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *