सरकारलाई प्रभावकारी बनाउन कांगेस–एमालेको संयन्त्र गठन गठन
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीनै तहका सरकार सञ्चालनमा सहजीकरण गर्ने गरी संयन्त्र गठन गरेका छन् । दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको संयन्त्रलाई संघीय सरकार सञ्चालनमा समन्वय गर्ने जिम्मेवारी दिइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक सदस्य छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।
गौतमका अनुसार, सरकारलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्रले काम गर्ने छ । प्रदेशमा पनि दुवै दलका तीन–तीनजना सदस्य रहने गरी ६ सदस्यीय संयन्त्र गठन गरिने छ । दुई दलबीच जिल्ला तहमा समेत दुई–दुईजना सदस्य रहने गरी संयन्त्र बनाउने समझदारी भएको छ ।