यी हुन् एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । शनिबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दुई राजनीतिक दलबीचको सम्बन्धलाई थप प्रगाढ र कामलाई अझै प्रभावकारी बनाउन संयन्त्र समेत बनाइएको अवस्थामा विश्वासको वातावरण सुदृढ बनाउँदै लैजानुपर्नेमा बैठकमा जोड दिइएको उनले बताए । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि बैठकमा छलफल गरिएको ज्ञवालीले जानकारी दिए ।

आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति सिफारिस भएर आएका पार्टी उमेदवारको नाम एमाले सचिवालय बैठकबाट अनुमोदन समेत गरिएको छ । उपनिर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन पार्टीका नेता–कार्यकर्तालाई बैठकबाट आह्वान गरिएको ज्ञवालीले बताए । जापान भ्रमणका विषयमा विवाद भएपछि पदबाट राजीनामा दिएका कोसी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सघाउने निर्णय पनि सचिवालय बैठकबाट गरिएको ज्ञवालीले जानकारी दिए । एमाले कोसी प्रदेश कमिटीले शनिबार नै मानव तस्करीका आरोपित अधिकारीमाथि छानबिन गर्न माग गर्दै सत्यतथ्य पत्ता नलाग्दासम्म पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *