जाडोमा मर्निङवाक जाँदा कस्तो सावधानी अपनाउने
व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड र ओजन हुन्छ, जसले हावालाई हानिकारक वा प्रदूषित बनाउँछ । जाडो मौसममा हावा पनि कम चल्छ । जसकारण प्रदूषण एकै ठाउँमा जम्मा भएर बस्छ । काठमाडौं जस्ता सहरमा जाडो मौसममा चिसो–तातो हावाको पत्रले ढकनीको रुपमा काम गर्छ र प्रदूषणलाई जहाँको त्यहीं राख्छ । त्यसैकारण जाडोयाममा वातावरण बढी प्रदूषित हुन्छ । काठमाडौं कचौरा जस्तो आकारको भएको र वायु प्रदूषण अत्यधिक भएकाले बिहानको वायु पनि दूषित हुन्छ । यस्तो अवस्थामा प्रभातकालीन भ्रमणमा निस्कँदा मुटु, फोक्सोमा गम्भीर समस्या हुने चिकित्सकहरूले बताउने गरेका छन् । जाडोयाम सुरु भएसँगै हावाको बहाव कम हुन्छ र चिसो–तातो हावाले एउटा तह बनाउँछ । हावा कम चल्ने र पानी नपर्ने भएकाले जाडो मौसममा त्यो धुलोका कण र प्रदूषण जहाँको त्यहीं रहन्छ । यो मौसममा बिहान ५ देखि ८ बजेसम्मको समयमा प्रदूषणको मात्रा बढी हुने भएकाले त्यस बेला मर्निङवाक नजानु उचित हुन्छ । बिहानभन्दा दिउँसो र साँझ बाहिर निस्कनु उचित हुने छातीरोग विशेषज्ञ डा। राजु पंगेनी बताउँछन् । ‘प्रदूषण र दूषित हावाका कारण फोक्सो, श्वासप्रश्वास, दीर्घरोग, दम र खोकीको समस्या पनि बढ्ने गर्छ । यी सबै वायु प्रदूषणले स्वास्थ्यमा पार्ने दीर्घकालीन असर हुन्’, उनी भन्छन्, ‘वायु प्रदूषणकै कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउने जस्ता तत्कालीन असर पनि देखा पर्न सक्छ ।’ जाडोमा हिंड्दा छिटो छिटो सास फेर्ने क्रममा प्रदूषित हावा र हानिकारक धुलोका कणहरू फोक्सोको भित्री तहसम्म पुगेर असर गर्न सक्ने डा। पंगेनी बताउँछन् । जाडोयाममा प्रदूषण बढेको बेला मर्निङवाक निस्कँदा प्रत्यक्ष रुपमा फोक्सोलाई असर गर्छ । फोक्सोमा असर गरेपछि बिस्तारै रक्तनलीहरुमा त्यसको प्रभाव पर्न थाल्छ र पछि गएर मुटुको रक्तनली साँघुरिने सम्भावना हुने मुटुरोग विशेषज्ञ अभिषेक ठाकुर बताउँछन् । कसैको मुटुको नसा पहिलेदेखि नै साँघुरिएको छ भने चिसोले झन् खुम्चिन्छ । त्यसैले धेरै चिसोमा मर्निङवाक नगएर दिउँसो वा साँझको बेला जानु उपयोगी हुने ठाकुर बताउँछन् । जाडोमा चिसो हावाको सम्पर्कले शरीरको तापक्रम धेरै कम हुन सक्छ, हाइपोथर्मिया ९शरीरको असामान्य चिसोपन० निम्त्याउन सक्छ । यो अवस्था खतरनाक हुनसक्छ, विशेषगरी वृद्ध र बच्चाहरूका लागि । त्यसैले वृद्ध र बालबालिकाले झन् विशेष ध्यान दिनुपर्ने ठाकुर बताउँछन् । जाडोमा मर्निङवाक जानुअघि हल्का वार्मअप गर्नुपर्छ । जसले गर्दा शरीरको तापक्रम बढ्छ र रक्तसञ्चारमा सुधार हुन्छ । यसले जोर्नीको अररोपन पनि कम हुने जनरल फिजिसियन डा। सरस्वती भट्टराई बताउँछिन् । उनी भन्छिन्, ‘बिहानको समयमा वाकमा जाँदा मास्क सकभर नलगाएको राम्रो हुन्छ । बरु, मास्क लगाउनु नपर्ने भीडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुवाँ नउड्ने) बाटो चयन गरेर हिंड्नुपर्छ ।’ बिहानको समयमा भन्दा घाम लागेपछि वा केही न्यानो भएपछि हिंड्न सकिन्छ । साथै, शरीरलाई पूरै न्यानो बनाएर, जस्तो टोपी, पञ्जा, गलबन्दी, ज्याकेट, न्यानो ट्राउजर, जुत्ता, मोजा लगाएर हिंड्न सकिने उनी सुझाउँछिन् । ‘चिसो स्याँठमा शरीरबाट तापक्रम बाहिर जान दिने ठाउँ नै नराखेपछि त शरीरको तापक्रम घट्दैन’, डा. भट्टराई भन्छिन् । जाडोमा हिंड्न जानुअघि मनतातो पानी पिउने र हिंडिसकेपछि पनि मनतातो पानी पिउनु राम्रो हुन्छ । जसकारण शरीरको तापक्रम सामान्य रहने डा. भट्टराई बताउँछिन् ।