झुसिलकिरा मार्ने ढुसी, जसले रोक्नेछ मानिसमा क्यान्सर

झुसिलकिरा तथा किटपतंगलाई मार्ने एउटा ढुसी मानिसमा विभिन्न खालका क्यान्सरको रोकथाममा उपयोगी सावित हुन सक्नेछ । एक नयाँ अध्ययन अनुसार उक्त परजिवी ढुसीबाट निस्किने केमिकलले क्यान्सरलाई निर्मूल पार्नसक्छ । भविष्यमा यो ढुसीबाट क्यान्सरको नयाँ औषधि तयार हुने विश्वास गरिएको छ । नटिंघम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको यस विषयको शोध रिपोर्ट FEBS Letters जर्नलमा प्रकाशित भएको छ। शोधकर्ताहरुका अनुसार झुसिलकिरालाई आक्रमण गरी निस्तेज बनाउने तथा मार्ने उक्त ढुसी मानिसका लागि फाइदाजनक हुन सक्दछ । उक्त उपयोगी ढुसीको नाम कर्डिसेप्स मिलिटारिस हो । यो सुन्तला रंगको सुन्दर ढुसी हो । यो ढुसीले झुसिलकिरालाई संक्रमित गरेपछि त्यसलाई प्यारालाइज गर्दछ । त्यसपछि झुसिलकिरालाई मार्दछ र त्यसरी मार्नुअघि झुसिलकिराको सरीरबाट सबै आवश्यक पोषक तत्व शोषण गर्दछ । त्यसक्रममा झुसिलकिराको व्यवहारमा परिवर्तन आउँछ र अन्तिममा ऊ मर्दछ । त्यसक्रममा एउटा रसायन निस्किन्छ, जसलाई कर्डिसेपिन भनिन्छ । वैज्ञानिकहरुले कर्डिसेपिन रसायनको अध्ययन गरेका थिए । त्यसको जीन एक्सप्रेसन, कोशिका सिग्नलिङ तथा प्रोटिन सश्लेषणको अनुसन्धान गरेका थिए । त्यसक्रममा उक्त केमिकलले के काम गर्दछ र कसरी गर्दछ भन्ने तथ्य पत्ता लाग्यो । आरएनए बायोलोजिस्ट कर्नेलिया डे मूरका अनुसार हजारौं जीनहरुको अध्ययनपछि कर्डिसेपिनले के काम गर्दछ भन्ने तथ्य पत्ता लागेको हो । त्यसबाट वैज्ञानिकहरुले कर्डिसेपिन ट्राइफोस्फेट नामको सक्रिय यौगिक तयार पारे । उक्त सक्रिय यौगिकले कोशिकाहरुको गतिविधिलाई बढावा दिन्छ र कोशिकालाई धेरै शक्तिशाली र सक्रिय बनाउँछ । यो रसायनले कोशिकाहरुलाई यति तागत दिन्छ कि स्वच्छ कोशिकाहरुले क्यान्सरग्रस्त कोशिकाबाट आउने सिग्नललाई रोकिदिन्छन् । जसका कारणले एक कोशिकाबाट अर्को कोशिकामा क्यान्सर फैलिन पाउँदैन । अर्थात् क्यान्सर कोशिकाहरु बढ्न पाउँदैनन् । के तथ्य प्रष्ट भएको छ भने कर्डिसेप्स नामक उक्त ढुसीबाट निस्किने रसायन विभिन्न खालका क्यान्सरको रोकथाममा कामयाब हुनेछ । तर, उक्त रसायनले कसरी काम गर्दछ भन्ने कुरा पत्ता लगाउन चाहिं बाँकी नै छ । वैज्ञानिकहरुका अनुसार यो रसायनबाट क्यान्सरको नयाँ औषधि तयार पार्न सकिनेछ । उक्त औषधिले स्वच्छ कोशिकामा निकै कम नोक्सान पूराएर क्यान्सर कोशिकाको फैलावट रोक्नमा सहयोग गर्नेछ । स्मरण रहोस् यो झुसिलकिरा ढुसी परम्परागत औषधि तथा स्वास्थ्य परिकारको रुपमा विभिन्न एसियाली मुलुकहरुमा चर्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *