लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ६ करोड १० लाख १८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव पियुस राज अर्यालले जानकारी दिए । यसअघि बैंकले आर्थिक वर्ष २०७९।८० मा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।