नेपाल लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच १० लाख नगदको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनको संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिए । त्यसैगरी, कम्पनीका सीईओ पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरू अध्ययनगर्दै आएको कुरा जानकारी गराए । हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षयकोषको निर्माण गर्दै अनवरत रूपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने बताउँदै नेपाल लाइफले प्रदान गरेको रकम अक्षयकोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालन गरिने बताए ।