नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा खड्का निर्वाचित
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा १९औं महाधिवेशनबाट कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् । महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए ।
नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए ।महासंघमा आबद्ध सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको भन्दै उनले समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको उनले बताए । कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट नभएको भन्दै उनले व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी नराख्ने उनले बताए । अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँ कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । महाधिवेशनले महासंघको प्रगति र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हो ।