सबैले ८४ को मात्रै कुरा गर्छौँ,अहिलेको जिम्मा कसले लिने : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् ।
मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताए ।
सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो । रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए । उनले भने,‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौं । तर त्यसका लागि हामीले के गरेका छौं ? यसका लागि के गर्ने त अब ? हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौं । राजश्व र विकास निर्माणमा जोड्छौं । यसरी हुदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन ।
रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो । तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ । कसैले दया गरेर त लगानी आउँदैन । नीजि क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्वीकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन । नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरुलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरु र अन्य कम्पनीहरुपनि नेपलामा लगानी गर्न डराईरहेका छन् । ती कम्पनीहरुको नाम लिन म पनि डराइरहेका छु । हामीलाई फाइदा चाहिएको छ । तर हामीले वातावरण बनाउन सकिरहेका छैनौं ।’
उनले नेपालमा दुई दलीय संयन्त्रमा बनेको सरकारले रोजगारीको मुद्दालाई प्रतिष्पर्धाको विषय बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरुले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरे । उनले बाँकी रहेको तीन वर्षमा आफूले पाएको जिम्मेवारी सबै राजनीतिक दलहरुले पूरा गर्नुपर्ने बताए ।