नेपाल बैंक लिमिटेडका तत्कालीन उप प्रबन्धक पक्राउ
काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनी १३ वर्षपछि पक्राउ परेका हुन् । उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर उनले ३९ करोड ८९ लाख हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । दुई वटा छुट्टाछुट्टै मुद्दामा उनीबिरुद्ध ६–६ महिना कैद सजाय तोकिएको छ । २०६८ भदौ ६ मा ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । २०७३ कार्तिकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले सो फैसलालाई सदर गरेका थिए । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने एसपी रजौरेले जानकारी दिए ।