दुर्गा प्रसाईं धरौटीमा रिहा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका छन् । रिहा भएपछि प्रसाईंले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने बताए । यो मेरो जुन लडाइँ छ, तस्करहरूसँगको लडाइँ, यो जारी रहनेछ । यो लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा वर्ग, भुइँ मान्छेहरूको बोली हो, उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरूले बोल्ने बोली आज मैले बोल्नुपरेको छ ।
बाहिरिने क्रममा प्रसाईं आफ्नो जित भएको बताए । म हारेको छैन है । यो हारेको होइन नि फेरि । यो मैले जितेको हो, यो तपाईंहरूको जित हो,” गाडीमा सवार प्रसाईंले समर्थकहरूलाई भने । प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए । रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गरेर थुनुवा झिकाउने आदेशसहित कारण देखाऊ आदेश जारी गरेको थियो । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो । यसअघि, साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई संगठित अपराधमा पक्राउ गरेको थियो ।