जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको बिक्री नगरौं- मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न स्वतःस्फुर्त ढंगले माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे। ‘कुनै पनि पीठ क्षेत्रका बासिन्दामा उच्च आध्यात्मिक मूल्य र चेतना रहन्छ। जसको अभिव्यक्ति नै तिनको शुद्धता तथा पवित्रतामा आधारित जीवनशैलीबाट हुन्छ। त्यसैले जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार गर्न हुँदैन,’ मुख्यमन्त्री सिंहले मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग भने ।  

उनले जनकपुरधामको परिक्रमा सडक भित्रका ठाउँ धार्मिक तथा सांस्कृतिक अनुष्ठानको गौरवपूर्ण अतीत तथा वर्तमान उधिनेको बताउँदै त्यस क्षेत्रमा माछामासु र मदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँगै अन्य सरोकारवालासँग समन्वय गरिरहेको जानकारी दिए ।  

जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सव, छठलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक पर्व, मेला आदिका बेला स्थानीय प्रशासनले परिक्रमा सडकभित्र पशुपक्षीको काटमार, मासु तथा मासुजन्य पदार्थको बेचबिखन र उपभोग निषेध गरेको सूचना जारी गर्ने गर्छ। त्यस आधारमा केही दिनका लागि माछामासु र मदिरा निषेधित भए पनि अन्य दिन परिक्रमा सडकभित्र माछामासु र मदिराको बेचबिखन तथा उपभोग भइरहन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *