प्रसव अघि नै नयाँ पार्टीमाथि सङ्कट

नेपालका पुराना राजनीतिक पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीभित्रको अप्रजातान्त्रिक व्यवहारले ती पार्टीहरू खुम्चिने क्रम तीव्र भएको छ । पार्टी सञ्चालन समुचित ढङ्गले गर्न नसक्दा संसारका उम्दा पार्टीहरूको समयक्रमा अस्तित्व नै समाप्त भएको छ । प्रजापरिषद नेपाली राजनीतिक एउटा ऐतिहासिक र साहसिक उपलब्धि थियो । तर त्यो पनि सम्वत २००७ सालको क्रान्ति अघि नै सकियो । नेपाली काँग्रेसले त्यसको स्थान लियो ।

नेपाल कम्युनिस्ट पार्टीले राणा शासन अन्त्यको वेला कुनै भूमिका नखेलेको भए पनि त्यसको प्रभाव कालान्तरमा जबरजस्त देखिन थाल्यो । तर नेतामा रहेको पेटीवुर्जवा चिन्तन र स्वार्थी चरित्रले दर्जनौँ टुक्रामा विभाजित भए । पछिल्लो कालखण्डमा एमालेको नाममा सानातिना समूहहरू गोलबन्द भएपछि र उसले अधिनायकवादी बाटो त्यागेर प्रजातन्त्रलाई अपनाउन थालेपछि उ बारम्बार सत्तामा पुग्यो । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको चरित्र र भूमिका माथि प्रश्न उठेको छ । यी दलले पार्टीलाई लोकतन्त्र अनुकूल बनाउन सकेनन् । नेताको हैकम तन्त्रमा चल्ने ती दुवै दलप्रति युवा पुस्ताको आकर्षण पनि घट्दै गएको छ । खड्ग ओली र शेरबहादुर देउवाले ती पार्टीलाई आफ्नो सम्पत्ति ठान्न थालेका छन् । र पार्टी अब प्राइभेट लिमिटेडमा परिणत भएका छन् । यस्तै नियति हाम्रो वरिपरिका छिमेकीहरूको पनि छ । भारतमा अङ्ग्रेज धपाउन सफल भारतीय राष्ट्रिय काँग्रेस, चीनमा सामन्तवादको विरुद्ध निर्णायक लडाइँ लडेको कोमिङताङ पार्टी, पाकिस्तानको पिपुल्स पार्टी आदि आज म्युजियममा थन्किने स्थिति आएको छ । पार्टी कुनै एक व्यक्तिको निजी सम्पत्ति होइन र एक्लैको प्रयत्नले पार्टी बन्दा पनि बन्दैन । यसको गठन, निर्माण, र विकासमा असङ्ख्य मानिसको भूमिका हुन्छ । त्यसलाई उपेक्षा गरेर मनोमानी ढङ्गले सञ्चालन गर्न खोजियो भने पार्टी नै सकिन पनि सक्छ । अथवा पुरताल गर्ने नसकिने गरी घाटा लाग्न पनि सक्छ । पार्टीभित्रको अन्यायको प्रभाव त झन् डरलाग्दो हुन्छ । नब्बेको दशकमा भारतमा राजीव गान्धीको मन्त्रिपरिषद् एक वरिष्ठ सदस्य विश्वनाथ प्रसाद सिंहले विद्रोह गरेर गान्धीको पार्टी काँग्रेस आईलाई धुलोमै मिलाइदिए । र चुनावबाट आफू सत्तासीन भए । यस्ता घटना संसारभरि घटिरहेका हुन्छन् ।

नेपाली काँग्रेसको जीवनमा पनि व्यक्तित्वको टसल, द्वन्द्व र अहकारले बारम्बार पार्टीको ढोका ढकढकाएकै हो । सुवर्ण शमशेर, सूर्यप्रसाद, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईमाथि पार्टीमा अन्याय परेको कुरा नउठेको होइन । मातृका प्रसाद कोइराला त बिपीको कारणले नै पार्टी च्युत भए । पछिल्लो पटक कम्युनिस्ट पार्टीभित्र खड्ग ओली र पुष्पकमल दाहाल नामका दुई पात्र विकृतिको कारक बनेका छन् । पुष्पकमल दाहालको महत्त्वाकाङ्क्षाले देश तहसनहस भयो । दशबर्ष हत्या, हिंसा र अराजकताले गर्दा जगै हल्लाइदियो । स्वार्थ अनुकूल भएर हिंसाको बाटो छाडेर खुल्ला राजनीतिमा आएपछि मोहन वैद्य, विप्लव, बाबुराम भट्टराई, रामबहादुर थापाहरूको माओवादी राजनीति समाप्त पारेर दाहाल आफैँ राजनीतिक भिखारीमा रूपान्तरण भए । अहिले त्यो रोग एमालेमा सरेको छ । यद्यपि, एमालेमा त्यस रोगको लक्षण धेरै अघिदेखि थियो । त्यही रोगले वामदेव, सिपीलाई पार्टी फुटाउन बाध्य पा¥यो । माधव नेपालहरूलाई एमाले टुक्राउन विवश गरायो । मोहनचन्द्रलाई बाहिर हुत्त्यायो । एक पटक फेरि मीनबहादुर गुरुङको जग्गा काण्डमा एमालेले अनुशासनको डन्डा चलाएर तीन जना नेताको जागिर खाइदिएको छ । आफ्ना प्रतिद्वन्द्वी रहेका भीम रावललाई त ओलीले पार्टी सदस्यता नै नरहने गरी कारबाही गरेका छन् । अरू दुईलाई निलम्बन गरी चेताउन खोजेका छन् । अहिले ओलीको डन्डाले सडकमा पछारिएका रावल नयाँ पार्टी गठनको अभियानमा लागेको चर्चाले राजनीतिका व्यापारीहरूको कान ठाडा भएका छन् । उनले कस्तो पार्टी बनाउँछन् । त्यसको प्रभाव कस्तो रहन्छ, पार्टीले कुन बाटो लिन्छ भनेर चासो लिनेहरूको सङ्ख्या बाक्लै छ ।

संविधानसभाको सेरोफेरोमै रावलले जातीय र क्षेत्रीय पार्टी बनाउन खोजेका थिए । अखण्ड सुदूरपश्चिमको नारा र क्षेत्री पार्टी गठनको तयारीका कारण रावल त्यही बेला चर्चामा थिए । तर पछि उनी रोकिए र एमालेमै बसे । ०५१ मा पर्यटन राज्यमन्त्री हुँदा रंगेहात धुसकाण्डमा फसेका रावल एमाले विभाजन ताका बन्दुके भनेर पनि चर्चित थिए । उनकी श्रीमती बामदेव सिपीको मालेमा लागेपछि उनले दिएको प्रताडना वामपन्थी वृत्तमा बदनाम नै भएको थियो । रावल न त कम्युनिस्ट हुन, न देशभक्त न भ्रष्टाचार विरोधी नै उनी नम्बर वान अवसरवादी हुन । एमालेभित्र जहिले पनि अवसरको राजनीति गरेका रावल अवसर पाउन छाडेपछि बिच्केर सञ्चार माध्यमलाई प्रयोग गरेर आफूलाई सफेदयोश देखाउन सफल भए । अब पार्टी निमार्णमा रावलले गैर वामपन्थी गैर प्रजातान्त्रिक र क्षेत्रीय जातीय दलको आकाङ्क्षालाई जगाउने सम्भावना छ । तर परिस्थिति अनुकूल छैन । उनले नेपाली काङ्ग्रेसबाट बिच्केका बिपी काँग्रेस भनिने करुवा छापहरूलाई साथमा लिएर अघि बढ्ने चर्चा पनि छ । सुदूरपश्चिममा मात्र उनको प्रभाव रहेकोले उनको पार्टीले राष्ट्रिय दलको आकार लिने सम्भावना कम छ । र, उनको शुरुदेखिकै चाहाना पनि अखण्ड सुदूरपश्चिमकै हो । त्यसैले जस्तो तयारी गरे पनि, जे नारा दिए पनि जस्तो प्रपञ्च गरे पनि रावलको पार्टी टिक्ने र चल्ने सम्भावना चाहिँ कमै छ । २०६२/६३ को आन्दोलन ताका खुलेका जातीय र क्षेत्रीय पार्टीका कार्यालयमै ताला लाग्ने अवस्थामा, युट्व, सोसल मिडियाले बनाइदिएका पार्टीहरू नै सङ्कटमा फसिरहेको बेला रावलको पार्टी कसरी चल्न सक्छ ? राजनीतिमा थाकेका, विश्राम लिएका र आफ्नै सुशे धन्धा चलाएर गुजारा गरेकाहरूलाई फेरी जगाएर राजनीतिमा हिँडाउनु कठिन काम नै हो । अब रावलको त्यो काम पुरा गर्ने सामथ्र्य नै छैन ।

रवि लामिछानेले झैँ अर्बौँ रुपैयाँ लगानी गर्न पनि उनी सक्दैन न । उनको उमेर पनि अब दौडधुप गर्ने खालको छैन । उनका बौद्धिकता व्यक्तिले गर्दा मन मिल्ने टिम बन्ने स्थिति पनि छैन । कस्तो पार्टी बनाउने भन्ने प्रस्ट नभएकाले उनको कित्तामा ठोक्किनेहरू कस्ता हुन्छन् भन्ने पनि यकिन छैन । त्यो भन्दा राम्रो विकल्प त उनले कुनै विचार मिल्ने जान पहिचानवाला साथी सँगी भएको बनिबनाउ पार्टी रोज्नु नै हो । त्यसो गर्दा एमाले बाहेकका दलमा माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) पहिले विकल्प हुनसक्छ । विप्लव ले चुनावी पार्टी बनाउने घोषणा गरेपछि त्यो पनि एउटा गन्तव्य हुन सक्ला । विचार, सिद्धान्त भन्ने कुरा कार्यशैलीले पनि धेरथोर प्रभावित गर्ने कुरा हुन ।

रावल जीवनको उत्तरार्धमा नयाँ पार्टी खोलेर नयाँ सन्देश दिने, नयाँ संस्कृति विकसित गर्ने र नेपाली राजनीतिलाई सही मार्गमा ल्याउने हैसियत राख्ने व्यक्ति होइनन् । उनको क्षमता भन्दा महत्त्वाकाङ्क्षा ठुलो छ । महत्त्वाकाङ्क्षा सही ढङ्गले व्यवस्थापन गर्न उनलाई साथ दिनेहरू अझै एमाले मै छन् । एमाले छाडेर एमाले जस्तै पार्टी चलाउने उनको प्रयास सफल हुन निकै गाह्रो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *