माओवादीले ६ महिने जागरण अभियान चलाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर अभियान चलाइने जानकारी दिए । माओवादीको ६ महिने सो अभियान मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गमा केन्द्रित हुने र दुवै मार्गको लागि बेग्लाबेग्लै अभियान चलाइने उनी बताउँछन् ।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा लाग्ने बताए । वर्तमान सरकारको गतिविधिका कारण लोकतन्त्र कमजोर बनिरहेको दाबी गर्दै उनले भने, ‘जनतालाई सुसूचित गरियो भने मात्र लोकतन्त्रको रक्षा हुन सक्छ । लोकतन्त्रको रक्षा जनताले मात्र गर्न सक्छन् ।’