संवैधानिक राजतन्त्र सहित २०४७ सालको संविधानमा फर्किनु पर्छ- शुसिलमान शेरचन
४९ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा नेपाली काँग्रेस (बिपी) ले एक कार्यक्रम आयोजना गरेको थियो । बिपी काँग्रेसका सभापति शुसिलमान शेरचनको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष शेरचनले सम्बोधन गर्नुभएको थियो । सबै राष्ट्रवादी शक्ति एकीकृत भएर पुराना असक्षम नेता र प्रणाली फालेर नयाँ सोचका साथ अधि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । बिपीको सिद्धान्त र मेलमिलापको जगमा मात्रै नेपाल विकसित समृद्ध बन्न सक्ने र संवैधानिक राजतन्त्र सहित २०४७ सालको संविधानमा फर्किनु पर्छ भन्ने कुरामा जोड दिनु भयो । यसै गरी उक्त कार्यक्रमलाई पार्टीका प्रवक्ता रोमन पुरीले सम्बोधन गर्दै ठुला ठुला पार्टीहरूको गलत सोच र गलत क्रियाकलापले नेपाली जनता वाक्क दिक्क भएर नेपाली युवा विदेश पलायन हुनुपरेको बताउनु भयो । नालायक सरकारको बेथिति कै कारण मुलुकको यो गति भएको कुरा बताउनु भयो ।
नेपाली काँग्रेसको पूर्व सांसद कमला थापाले सम्बोधनका क्रममा बिपी भनेको ब्रान्ड भएको साथै टाउको गन्न नपर्ने र बिपीको नाम नै काफी रहेको बताउनुभयो । ‘बिपी मेलमिलाप तथा एकता दिवस यो शब्द आफैँमा एक गौरवान्वित शब्द हो । ’ बिपी भनेको काँग्रेसको मात्र नभएर हरेक नेपाली जनताले सिरोर्धाय गर्नु नेपाली जनताको गौरवमय इतिहास रहेको उहाँले बताउनु भयो । बिपीले २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलाप तथा एकता दिवस नीति ल्याएता पनि आजको समयमा यसको आवश्यकता अझ बढी रहेको बताउनु भयो । उहाँले आफू नेपाली काँग्रेस हुनुमा आफूले गर्व गरेको समेत बताउनु भयो । ‘म पनि नेपाली काँग्रेसबाट सांसद भएकी हुँ, मलाई नेपाली काँग्रेस हुनुमा गर्व लाग्छ किनभने हामी बिपीको सिद्धान्तमा छौँ ।’ उहाँले अझैँ थप्नुभयो ‘आज पनि छौँ हिजो पनि थियौँ र भोली पनि रहन्छौँ ।’ २०४७ को संविधान बिपीको प्रजातान्त्रिक समाजवाद उहाँले बहुदलीय प्रजातन्त्र संवैधानिक राजतन्त्र २०४७ को संविधानमा फर्कनु पर्ने बताउनुभयो । उहाँले थप्नुभयो ‘नेपाली काँग्रेसका शीर्ष नेताहरूले बनाएको संविधान हो, नेपाली काँग्रेसले किन र कसरी अस्वीकार गर्छु भन्छ’ ?
त्यसै गरी कार्यक्रममा उपस्थित राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिपी कोइरालाले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका परिपूरक भएको बताउनु भयो । उहाँले राष्ट्रवादी शक्ति र राजा र प्रजातन्त्रबादीहरु बिचको एकता र सहकार्य बिचको सन्देश नै राष्ट्रिय मेलमिलापको नीति भएको बताउनु भयो । उहाँले थपे उक्त कुरा बिपी कोइराला आफैले पटक पटक व्याख्या गर्नुभएको थियो । राष्ट्रिय मेलमिलाप भनेको राष्ट्रवादी र प्रजातन्त्रवादी बिचको एकता भएको बताउनु भयो । राजा र प्रजातन्त्रबादीहरु बिचको एकता र सहकार्य हो । बिपीको राष्ट्रिय मेलमिलापको नीतिसँग गणतन्त्रको संरक्षणको कुरा गर्नु त्यो विडम्बना र हासात्मक रहेको बताउनु भयो ।
उहाँले नेपालको पहिचानको आधार सनातन हिन्दुराष्ट्रलाइ समाप्त पारी जातीय आधारमा सङ्घीयतालाई बीजारोपण गर्ने कारणले गर्दा परिणाम स्वरूप देशको हरेक ठाउँहरू आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा सङ्कट रहेको बताउनु भयो । अवसरको अभावले लाखौँ युवा बिदेसिनू परेको साथै प्रमुख दलप्रति भरोसा टुटेका कारण नेपालको नागरिकता र राहदानी त्याग्नेको सङ्ख्या दिनानुदिन बढेको कुरा बताउनु भयो । बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेको बताउनु भयो ।
उहाँले सुशासनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको निमित्त बिपी ले भने झैँ राष्ट्रवादी र प्रजातन्त्रवादीको बिचमा सहकार्य र एकताको आवश्यकता रहेको बताउनु भयो ।